पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ५ जनाको घटना स्थल मै र १ जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु मध्ये भरतपुर मा उपचारका क्रममा मृत्यु भएका गुल्मी हस्ती चौरका तिलक बिस्टको मात्र नाम खुलेको छ घटना मा कम्तीमा ५० जना घाइते भएका छन् ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाकी छ । कार्तिक-३, २०७५