27 C
Kathmandu
Wednesday, August 4, 2021

गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

- Advertisement -
- Advertisement -spot_imgspot_img

गण्डकी प्रदेश बुधबारदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ । पोखरामा बुधबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहका १६ महिनादेखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुको राष्ट्रिय खोप तालिका बमोजिम १५ महिना भित्र पाउनु पर्ने सबै खोपहरु पाइसकेको सुनिश्चित गर्दै गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे ।

घोषणा गर्दै मुख्यमन्त्री गुरुङले भने,’पूर्ण खोपको दिगोपना कायम रहेको अवस्था भएकोले आज हामी गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्दछौं, आगामी दिनमा कुनैपनि अवस्था र परिस्थितिमा कुनै पनि बालबालिका कुनै पनि खोप लिनबाट बन्चित हुने छैनन् ।’

गण्डकी प्रदेशमा १६ देखि २३ महिना भित्रका ३५ हजार ८ सय ४२ जना वालवालिकाले खोपको मात्रा पुरा गरेको जनाइएको छ । स्याङजा जिल्लाका ४ हजार ४ सय ९८ जना, कास्कीका ८ हजार ६ सय ९८ जना, बागलुङका ३ हजार ९ सय ६ जना, पर्वतका १ हजार ६ सय ७९ जना, गोर्खाका ५ हजार ३ सय ४३ जना, नवलपरासी सुस्ता पूर्वका ४ हजार ४ सय १ जना, म्याग्दीका १ हजार ६ सय ५२ जना, तनहुँका ३ हजार ४ सय ६६ जना, मुस्ताङका १ सय १७ जना, लमजुङका २ हजार २३ जना र मनाङका ५९ जना बालबालिकाहरुलाइ पुर्णखोपको मात्रा खुवाइएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको तेश्रो बृहत बहुबर्षीय योजना २०१७ देखि २०२१ ले नेपाललाई खोपबाट बचाउन सकिने रोगहरुबाट मुक्त देश बनाउने परिकल्पना गरेको छ ।

एउटा बच्चालाई पूर्ण खोप सेवा प्रदान गर्न करिब ३० हजार खर्च लाग्ने बताईन्छ । गण्डकी प्रदेशका लक्षित बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चित गर्न मात्र  वार्षिक करिब एक अर्ब ७० करोड खर्च लागेको सामाजिक विकास मन्त्रालयका खोप सुपरभाईजर एकनारायण लम्सालले जानकारी दिए ।

खोप कार्यक्रमको मुख्य लक्ष्य बालबालिकाहरुमा खोपबाट जोगाउने सकिने रोगहरुबाट हुने बिरामी दर, अपाङ्ग दर तथा मृत्यु दर कम गराउने रहेको खोप सुपरभाईजर लम्सालले बताए ।

बिफर उन्मुलन, पोलियो मुक्तको अबस्था, ५ वर्ष मुनिका बालबालिकाहरुको मुत्यदरमा सह्रशताब्दी विकास लक्ष्य हासिल हुनु, नवजात शिशुमा हुने धनुष्टंकारको निवारण, दादुरा रोग निवारण उन्मुलन रहनु तथा जापनिज इन्सेफ्लाईटिस तथा रुबेला रोग नियन्त्रणको अबस्थामा रहनु खोप कार्यक्रमका मुख्य सफलता रहेको छ ।

गण्डकी प्रदेशमा एक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, १७ वटा सरकारी अस्पताल, २५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ सय ८७ वटा स्वास्थ्य चौकी, ६२ वटा शहरी स्वास्थ्य केन्द्र र ८२ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेको मन्त्रालयले जनाएको छ । पोखरा क्षेत्रमा मात्र करिब २५ वटा बढी निजी अस्पताल छन् ।

गण्डकी प्रदेशमा १ हजार ७ सय ७० वटा खोप केन्द्र तथा १ हजार ४ सय १६ वटा गाँउघर क्लिनिक छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ९ सय ३९ जना महिला स्वास्थ्य स्वयं सेविकामार्फत समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्