27 C
Kathmandu
Saturday, July 31, 2021

मोदी आज जनकपुर हुदै नेपाल आउँदै, जानकी मन्दिरमा शंखनाद गरेर स्वागत

- Advertisement -
- Advertisement -spot_imgspot_img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणका लागि आज जनकपुर हुदै नेपाल आउँदैछन् । उनको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदा समेत घोषणा गरेको छ । जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ । मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् । जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् ।

जानकी मन्दिर क्षेत्रमा करिब ४५ मिनेट बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्नेछन् । त्यसलगत्तै बाह्रबिघा रंगभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी हुनेछन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

मोदीको स्वागतमा जनकपुरलाई विशेषरुपले सिंगारिएको छ । सडकलाई कालोपत्रे गरिएको छ भने बिभिन्न स्थानमा मोदीको फोटोसहितका स्वागतद्वार बनाइएको छ । जानकी मन्दिरदेखि बाह्रबिघासम्मको सडकको दुवैतर्फको पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ । प्रदेश २ सरकारले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा जिल्ला जिल्लाबाट मानिसहरु जनकपुरधाममा ओसार्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मोदीको आगमनलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न प्रतिवन्ध छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु देखिन्छन् । मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ । जानकी मन्दिर र बाह्रबिघाका ठाउँ–ठाउँमा सीसीटिभी क्यामरा जडान गरिएको छ । वैशाख-२८,२०७५ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्