27 C
Kathmandu
Saturday, July 31, 2021

एमाले- माके एकता : प्रचण्डका चार माग पूरा,केन्द्रीय कमिटीको संख्या बढाइने

- Advertisement -
- Advertisement -spot_imgspot_img

माओवादी-एमालेको एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुने आशंकामा रुमलिएका  अध्यक्ष प्रचण्ड एमालेसँग बराबर हिस्सा माग्दै आएकोमा अब ढुक्क हुदै एकता तर्फ लम्किएका छन् । केपी ओलीले प्रचण्डका मागहरु पूरा गरिदिने सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको हो ।

माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त अघि सारेपछि एकता प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।

दुवै पार्टीका नेताहरुले बाहिर नल्याए पनि ओली र प्रचण्डबीच केही विषयमा भद्र समझदारी भएको छ । प्रचण्डको मुख्य चासो रहेको केन्द्रीय कमिटीमा बराबरीको हैसियतलाई ओलीले अधिकतम सम्बोधन गरेको स्रोतले जनाएको छ ।
माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुसँगको परामर्शमै ओलीले प्रचण्डका सरोकार सम्बोधन गरेको एमालेका एक नेताले बताए ।

स्रोतका अनुसार रामबहादुर थापा बादल संयोजक रहेको विधान मस्यौदा कार्यदलले प्रस्ताव गरेको २९९ सदस्यीय केन्द्रीय कमिटीको आकार अब केही ठूलो हुने भएको छ । माओवादीको मागलाई सम्बोधन गर्ने गरी ३५० को आसपासमा केन्द्रीय कमिटी बन्ने भएको छ ।

एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्दीय कमिटी यथाव रहनेछ । माओवादीलाई यसअघि ९९ सदस्य भनिएकोमा अब करिव ५० जना थप गरेर ६०/४० को हैसियतमा एकीकरण हुने भएको छ । यद्यपि दुबै पक्षले प्रतिशतका आधारमा केन्द्रीय कमिटी नबन्ने बताइरहेका छन् ।

पार्टी एकता संयोजन समितिमा रहेका एक सदस्यले अनलाइनखबरसँग भने-‘प्रतिशत तोकेर होइन, आवश्यकताका आधारमा ३५० हाराहारीको केन्द्रीय कमिटी बन्छ । एमालेका २ सय र माओवादीका डेढ सय समायोजन गर्दा सम्मानजनक एकता हुन्छ । यसो गर्दा जनमत,दुवै पार्टीको आकार र कार्यकर्ताको भावना पनि समेटिन्छ ।’

केन्द्रीय कमिटी ३५० माथिको भएपछि पोलिटब्यूरो पनि ११५ सदस्यीय हुनेछ । त्यस्तै स्थायी कमिटी ३७ देखि ३९ सदस्यको बीचमा रहने वार्ता प्रक्रियामा सहभागी नेताहरुले बताएका छन् । पार्टीको दैनिक कार्यसञ्चालन गर्न दुबै अध्यक्षले तोकेका कम्तिमा एक/एकजना नेता संयोजक र सहसंयोजक रहने गरी केन्द्रीय सचिवालय बन्नेछ ।

पार्टी एकीकरण टुंगो लगाउनुअघि प्रचण्डले मुलतः चार विषयमा आफ्नो हात तल नपरोस भनेर ग्यारेन्टी खोजेका थिए-

१. केन्द्रीय कमिटीमा लगभग समान हैसियत,जसले गर्दा भोलि एमालेभित्रका ओली बिरोधीको साथ लिएर बहुमतमा पुग्न सकियोस् ।

२. आगामी दुई वर्षपछि हुने एकता महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन एमाले नेताहरु सहमत हुनुपर्ने, जसले गर्दा संख्याको बलमा पूर्व एमाले समूह बिगतमा माक्र्सवादीमाथि हाबी भएजस्तो नहोस् ।

३. केपी ओली प्रधानमन्त्री हुन्जेल आफूले कार्यकारी अधिकार प्रयोग गर्न पाइयोस । जसले गर्दा यो बीचमा एकीकृत पार्टीमा आफ्नो प्रभाब र दबाब बलियो बनाउन सकियोस् ।

४. प्रधानमन्त्री पद आधा आधा कार्यकाल बाँड्न ओलीले लिखित सहमति गरुन् । जसले गर्दा बिगतमा जस्तो भद्र सहमतिमा धोखा नहोस् ।

यी चार विषयमा प्रचण्ड र ओलीबीच केही सहमति भएका छन्, जसका बारेमा दुवै पार्टीका केही शीर्षनेतालाई मात्र जानकारी दिइएको छ । ओलीले प्रचण्डलाई २ वर्षपछिको अध्यक्ष ग्यारेन्टी गर्न सकेनन् । तर, तीन वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्न भने सहमति जनाएका छन् ।

प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री हुने भद्र सहमति भएको छ । तर, यसलाई लिखितरुपमा सार्वजनिक गर्दा सरकार कमजोर नहोस् भन्नेमा दुबै पक्ष सहमत भएका छन् । प्रचण्डले आधा-आधा कार्यकाल मागे पनि अन्तिममा २ वर्षमा सहमति भएको हो ।

केन्द्रीय कमिटीमा बराबरी हैसियत नभए पनि माओवादीले कम्तिमा ३८ देखि बढीमा ४२ प्रतिशतसम्म हिस्सा पाउनेछ । पार्टी एकतापछि झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुको साथ पाएर ओलीमाथि हाबी हुन सक्ने प्रचण्डको आँकलन हुन सक्छ । यसबीचमा ओलीप्रति असहमत एमालेका नेताहरुसँग प्रचण्डले केही राउण्ड छलफलसमेत गरेका थिए ।

प्रचण्डले ओली प्रधानमन्त्री हुञ्जेल दुबै अध्यक्षमध्ये आफूले कार्यकारी अधिकार प्रयोग गर्न पाउनुपर्ने अडान राखेका थिए । तर, त्यसमा भने दुवै नेताबीच भद्र सहमति भएको छ । प्रधानमन्त्रीका रुपमा व्यस्त रहने भएकाले ओलीले चाहेमा वा दुवै नेताको सहमतिमा त्यस्तो अधिकार एक नेताले प्रयोग गर्न सकिने मध्यमार्ग निकालिएको छ ।

प्रचण्डले दुई वर्षपछि हुने महाधिवेशनबाट आफू अध्यक्ष बन्ने सुनिश्चिता खोजे पनि एमाले नेताहरु कोही पनि त्यसमा छलफल गर्न तयार भएनन् । महाधिवेशनले निर्णय गर्ने अधिकार कुनै नेताले वा अहिले एकीकरण अघिका पार्टीले ग्यारेन्टी गर्न नमिल्ने भन्दै सो विषयमा ग्यारेन्टी गर्न नसकिने एमाले नेताहरु बताइसकेका छन् ।

महाधिवेशनपछिको अध्यक्षमा माधव नेपालले तयारी थालिसकेका छन् । पछिल्लो समय उनको अध्यक्ष ओलीसँगको निकटता पनि त्यसको संकेत हो । ओली र नेपाल मिलेकै कारण भोलि महाधिवेशनमा आफू कमजोर हुने भएकाले अध्यक्षको ग्यारेन्टी खोजेका थिए । बैशाख-२४, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्