प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा भेटवार्ता र गम्भीर छलफल भएको छ । तर, यो भेटघाट पार्टी एकता गर्न नभई अर्कै प्रयोजनका लागि आयोजना गरिएको थियो ।
प्रधानमन्त्री ओली र प्रचण्डवीचको भेटमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए । राजनीतिक नेताहरुको जमघटमा गृहसचिव प्रेम राईसमेत निम्त्याइएका थिए ।
भेटबारे माओवादीका एक नेताले भने, ‘त्यहाँ वाम एकताका बारेमा छलफल भएन, देशको शान्ति सुरक्षाका मामिलामा मात्रै कुराकानी भयो ।’
प्रचण्ड र ओलीवीच हुँदै आएको पार्टी एकतासम्बन्धी छलफल वैशाख ९ गतेको ब्यानर काण्डपछि सघन बन्न सकेको छैन । शुक्रबार दुई नेताहरुवीच भएको छलफल पनि सकारात्मक रुपमा अघि बढ्न सकेन ।
देशका विभिन्न भागमा विप्लव समूहले स्थानीय जनप्रतिनिधिहरुलाई राजीनामा गर्न धम्की दिइरहेको र सुरक्षा थ्रेट बढेको भन्दै यसबारे कस्तो रणनीति अपनाउने भन्ने विषयमा शनिबार छलफल भएको स्रोतले जानकारी दियो ।
सरकारले विप्लव समूहका गतिविधिलाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिँदै आएको छ ।
यसका साथै आदिवासी जनजातिले दिइरहेको आन्दोलनको धम्की लगायतका विषयमा पनि छलफल केन्द्रित रहेको स्रोतले बतायो ।
साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि नजिकिँदै गएकाले यसमा पनि सुरक्षा सतर्कता बढाउनुपर्ने विषयमा कुराकानी भएको बुझिएको छ । बैशाख-१६, २०७४