बैदेशिक रोजगारको क्रममा साउदी अरेविया पुगेका एक नेपालीलाई त्यहाँको अदालतले मृत्यु दण्ड दिएको समाचार बाहिर आएको छ ।
साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेल कारागारमा राखिएको छ ।
जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले अप्रिल १५ तारिखमा मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो ।
रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन ः पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ प्रथम सचिब बिजय कुमार राउतले भने, उनले उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेर आएको पनि जानकारी दिए ।
‘नेपाल दूतावासले उमेशलाई बचाउन को लागि हर सम्भब प्रयास गर्ने छौ’ राउत ले भने । आज सम्म उमेश को लागि पाकिस्तानी परिवार बाट आदलतमा ब्लड मनि को कुरा नआएको र आम माफी को कुरा नरहेको पनि जानकारी दिए ।
३ जुलाई २००७ मा उमेशले पाकिस्तानी सहकर्मी बसिरको हत्या गरेका थिए । बिन लादेन कम्पनीमा कार्यरत दुवैजना ह्युम पाइप निर्माणको काम गर्थे । हत्याबारे फैसलामा लेखिएको विवरण र उमेशको भनाइ फरक–फरक रहेको प्रथम सचिब बिजय कुमार राउतले जानकारी दिए ।
फैसलामा आर्थिक लेनदेनको विषयमा सुतिरहेका बेला रडले हानेर बसिरको हत्या गरेको उल्लेख छ । उमेशले भने कार्यस्थलमा झगडा हुँदा मृत्यु भएको बताउँदै आएका छन् । त्यसलगत्तै भागेका यादव आफ्नो भाई लाई लिएर रियाद बाट नेपाल पैसा पठाउने बेला बैंकबाट पक्राउ परेका थिए । फैसला गर्ने पुनरावेदन अदालतका न्यायाधीशले नियतवश हत्या गरेको भन्दै माफी दिन नसकिएको बताएका छन् । ‘
आर्थिक लेनदेनमा कुरा नमिल्दा हत्या गरेको देखियो । उनीसँग भएको १२ हजार साउदी रियल पनि लिएर गएको देखिन्छ । जुन जानीबुझी र नियतवश थियो । यो सरिया कानुन अनुसार ठूलो अपराध हो,’ न्यायाधीशको भनाइ उद्धृत गर्दै नेपाल दूतावास का प्रथम सचिब बिजय कुमार राउतले जानकारी दिए ।
यादव धनुषाको माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवका साइला सन्तान हुन् । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको बिन लादेन कम्पनीमा छ महिना काम गरेका थिए । बैशाख-१३, २०७५