नवलपरासीमा भारतीय पक्षले गण्डक नहरको पानी बन्द गरेपछि विद्युत उत्पादन शुन्यमा झरेको छ । भारतले गण्डक नहरको निरिक्षण तथा सरसफाईका लागि भन्दै २ महिना पानी बन्द गरेकाले गण्डक जल विद्युत केन्द्र सुरजपुरामा विद्युत उत्पादन बन्द भएको हो । भारतले गत मार्च २६ तारिख देखि मई २६ तारिखसम्मको लागि गण्डक नहरमा पानी बन्द गरि भत्किएका संरचनाहरुको मर्मत सम्भार गरिरहेको पावर हाउसले जनाएको छ ।
दैनिक १५ मेगावाट विद्युत उत्पादन क्षमतावान रहेको विद्युत उत्पादन गृहमा तिन वटा टरवाईन जडान गरिएका छन् जसमध्ये २ वटा टरवाईन मात्र संचालनमा छन् । टरवाईनहरु जिर्ण भएकाले टालटुल गरि टरवाईन नम्बर २ र ३ बाट मात्र उत्पादन लिन सकिएको छ । टरवाईन नम्बर १ पुर्ण रुपले ध्वस्त भईसकेको छ । मर्मतको भरमा संचालित ति २ वटा टरवाईनबाट ६.५ प्रतिशत मात्र विद्युत उत्पादन भैरहेको पावर हाउसले जनाएको छ ।
पावर हाउसको कम उत्पादित विद्युतले नपुग्ने हुँदा भारतको विहार भैंसालोटनबाट दिनहुँ २५ देखि ३० मेगावाट सम्म विद्युत किन्ने गरिएको पावर हाउसले जनाएको छ । यता आफनो २ महिनका लागि बन्द भएको पावर हाउसबाट ३ सय ९० मेगावाट विद्युत घाटा लाग्ने बताइएको छ । वर्षेनी भारतले चैत्र, बैशाख महिनामा नहरमा पानी बन्द गरि नहरको सरसफाई, मर्मत सम्भार गर्ने कार्यले उत्पादन गृहमा विद्युत बन्द हुदै आएको छ । बैशाख-९, २०७५