आइतबार प्रदेश ४ को प्रदेशसभा सभाहलमा अल्ली फरक चहल पहल देखियो । हल बाहिर सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको थियो भने मर्यादापालक हलभित्र सुरक्षा व्यवस्था मिलाउन तम्तयार थिए । जनाउ घन्टी बजेपछि उपस्थित सांसदहरु लाइनमा बसेर हाजिरी गर्दै संसद भवनभित्र छिरे ।
मर्यादापालकले सभामुखलाई ड्यासमा पुर्याएपछि सबै सांसदलले उठेर सम्मान व्यक्त गरे । बैठकको कार्यसूचीअनुसार राष्ट्रिय गान बजाउनेदेखि शहिदको सम्मानमा मौन धारणा गर्ने कार्य भएको छ ।
सभामुखले प्रदेश प्रमुखबाट आएको पत्र वाचन गरेर सुनाए । त्यसैअनुरुप बैठकका अन्य कार्यसूची अगाडि बढे । खासमा प्रदेश ४ को प्रदेशसभा सोमबार विहान ११ बजे बस्दैछ । सोमबारको बैठक कसरी सुरु हुन्छ, त्यसका प्रक्रियाहरु के के हुन्छन् भन्ने सहजीकरणका लागि आइतबार नै पूर्वाभ्यास गरियो ।
‘अघिल्लो दिन नै संसदको अभ्यास गर्यौं । मैले सभामुखको भूमिका निभाएँ,’ ज्ोष्ठ सदस्य जनकलाल श्रेष्ठले भने, ‘सोमबारको बैठकका सहजरुपमा अगाडि बढाउन आइतबारै संसदीय अभ्यास गरेका हौं ।’
बैठक कसरी अगाडि बढ्छ र सांसदको भूमिका के के हुन्छ भन्ने अभ्यासका लागि अघिल्लो दिन नै सांसदलाई सभास्थल बोलाइएको बैठक सञ्चालनका लागि आएका विज्ञ कर्मचारीका संयोजक जीवराज बुढाथोकीले बताए ।
‘सोमबारको बैठकको अभ्यास आइतबार नै गर्दा बैठकमै बसेको अनुभव गर्यौं,’ प्रदेश सांसद कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘बैठकको अभ्याससँगै सोमबार बोल्ने सांसदको नामसमेत संसद सचिवालयलाई उपलब्ध गराएका छौं ।’ माघ-२१, २०७४