बुटवल । प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ५ लाई मुलुककै नमुना प्रदेश बनाउन पहल गर्ने बताएका छन् । बैठकमा केही सांसदले प्रदेशको अस्थायी राजधानी बुटबल तोकेकोमा असन्तुष्टी पनि जनाए ।
एमाले संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश ५ लाई नमुना प्रदेश बनाउने बताए । शून्य संरचनाबाट काम गर्नुपर्ने चुनौती रहेको भन्दै उनले यसलाई मुलुककै नमुना प्रदेश बनाउन सकिने अवसर पनि रहेको धारणा राखे । पोखरेलले निकै कम समयमा धेरै कानुन पनि निर्माण गर्नुपर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।
नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले प्रदेश राजधानी बुटवल राखिएकोमा आपत्ति प्रकट गरे । प्रदेश राजधानीलाई लिएर बलेको आगो निभाउन प्रदेशसभाले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले सबै मिलेर विकास गर्नुपर्ने बताए । संघीय समाजवादी फोरमका सहश्राम यादवले सबै नागरिकलाई समेट्ने कानुन बनाउनुपर्ने बताए । माघ-२१, २०७४