काठमाडौंबाट यात्रु बाेकेर झापा जाँदै गरेको जीप शनिबार बिहान धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ कमलापुलनजिकै शनिबार बिहान २ः३० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको ज्यान गएको जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपानेको ज्यान गएको छ । त्यसैगरी, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।
४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
उता पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार, दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ । २०७४ माघ १३