रुपन्देहीस्थित देवदहका फर्निचर व्यवसायीको वसन्त पौडेल (बलु) को हत्या योजनाकार मनोज पुनका दुई जना सहयोगीलाई रूपन्देही प्रहरीले सार्वजनिक गरेकाे छ ।
पौडेलको हत्या भएको दुई सातापछि नवलपरासीको सुनवल नगरपालिका–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र सोही जिल्लाको डुमरहा–५ का महेन्द्र भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका याेजनाकार पुन र सुटर विवेक (थर नखुलेका) फरार छन् ।
पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित मान्छेको सुराकी गर्ने काम गरेकाे आइतबार इलाका प्रहरी कार्यालय, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । त्यसवापत उनीहरुले हुण्डीबाट साढे २ लाख रुपैयाँ लिएको समेत खुलेको छ ।
उनीहरुको साथबाट लु ४ प १४ नम्बरको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुई वटा कटुवा पेस्तोल र नगद ९९ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । पौडेलको गत २१ पुसमा गोली हानी हत्या गरिएको थियो । २०७४ माघ ७