कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्न लागेको विषयलाई आज नयाँँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।
तर कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल समूहका धेरै नेता विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । समाचार अनुसार बन्द सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट भएमा देउवाको पक्षमा ३७ र पौडेलको पक्षमा २२ सांसद् हुनेछन् ।
‘नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको दाबेदार हुन्, नयाँ पत्रिका दैनिकले आफ्नो खबरको अगाडि लेखेको छ, ‘त्यसमध्ये पनि सिंह दाबेदार हुन् ।
संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । तर सिंह भने देउवाको प्रतिष्पर्धीका रुपमा आफूलाई उभ्याउनकै लागि भए पनि उम्मेदवार बन्ने सोचमा छन् । निर्वाचनअघि एमालेबाट कांग्रेस प्रवेश गरेका उद्योगपति विनोद चौधरी भने कतै पनि खुलेका छैनन् । कांग्रेसभित्र उनले कुन पक्ष लेलान् भनेर चासोका साथ हेरिएको छ । २०७४-माघ ७