गृहणीले पत्नी,आमा ,भाउजु , बुहारी, यी अनेक भूमिकामा आफुलाई पेश गर्नुपर्ने हुन्छ । छोराछोरीका लागि- ख्वाउने, हुर्काउने । स्कुलका लागि तयार गर्ने । टिफिन तयार गरिदिने । पतिका लागि- पहिरन मिलाइदिने । मोबाइल, घडी, पर्स व्यवस्थित गरिदिने । सासु-ससुराका लागि- औषधी ख्वाउने । लुगाफाटो मिलाइदिने । सरसफाइ गरिदिने ।
पाहुनापात आउँछ, चिया बनाइदिनुपर्यो । घरमा भोज भत्तेर हुन्छ, अनेकथरी परिकार बनाउनुपर्छ । बिहान खाना पकायो, सबैलाई ख्वाउने पिलाउने, जुठो भाँडावर्तन माझ्ने, घर सफा गर्ने । यति गर्दागर्दै दिन गुजि्रन्छ ।
घर परिवार, छोराछोरी, पतिको ख्याल राख्दा-राख्दै आफ्नो बारेमा सोच्न पाएका हुँदैनन् । घर परिवारको खुसी खोज्दा खोज्दै आफ्नो खुसी हराएको भेउ पाउँदैनन् । अधिकांश गृहणीले यस्तै एकनासको दैनिकी विताइरहेका हुन्छन् । उनीहरुको यन्त्रिक जीवन आफैमा पट्यारलाग्दो हुन्छ ।
के गर्ने ?
जसले घरधन्दा सम्हालेर बसेका छन्, उनीहरुका लागि पनि परिवारले सोच्नुपर्छ । उनलाई कसरी खुसी, सुखी राख्ने ? उनको जीवनमा कसरी उमंग ल्याउने ? यसमा खासगरी पतिले बुझ्नुपर्ने हुन्छ ।
पत्नीलाई एकनासको दिनचर्याबाट बेलाबखत फुर्सद दिनुपर्छ । यसका लागि भान्साको काम आफुले सम्हाल्न सकिन्छ । परिवारका अन्य सदस्य मिलेर खाना पकाउने, भाँडा वर्तन सफा गरिदिने, लताकपडा मिलाइदिने गर्नुपर्छ ।
उनलाई आमाको रुपमा, पत्नीको रुपमा, बुहारीको रुपमा, भाउजुको रुपमा मात्र होइन, साथीको रुपमा पनि व्यवहार गर्नुपर्छ । घर-परिवार उनको निम्ति बोझिलो होइन, सहयोगी महसुष हुनुपर्छ ।
हरेक साँझ पत्निको निम्ति
आफ्नो कार्यथलोबाट फर्केपछि पत्नीका लागि समय दिन सकिन्छ । भलै त्यो समय थोरै किन नहोस् यद्यपी सम्झनलायक हुनुपर्छ । साँझ घर पुगेपछि पत्नीसँग क्वालिटी टाइम बिताउनुपर्छ । पत्नी भान्सामा हुनसक्छिन्, जहाँ पतिले आफ्नो उपस्थिती जनाउन सक्छन् ।
पत्नीसँग बात मार्ने, ख्याल ठट्टा गर्ने, दिनभरको रमाइला कुराहरु शेयर गर्ने । यससँगै पत्नीको काममा सघाउन सकिन्छ । दिनभरको कामले आफुलाई थकित बनाएको हुनसक्छ । त्यस्तो अवस्थामा पत्निलाई आफ्नो अवस्थाबारे बताउनु पनि सकिन्छ ।
एकसाथ टहल्न निस्कने
राती पत्नीसँग एकैछिन घरबाहिर टहल्न निस्कन सकिन्छ । खासगरी खाना खाइसकेपछिको अवस्थामा बाहिर हिँडडुल गर्नु राम्रो हो । यो स्वास्थ्यका लागि पनि फाइदाजनक कुरा हो ।
यस क्रममा नितान्त व्यक्तिगत कुराकानी गर्न सकिन्छ, जो छोराछोरी वा बुवाआमाले सुन्छ भन्ने भय हुन्छ । व्यवहारिक जीवनका कुरा गर्न सकिन्छ । प्रेम रोमान्सका कुरा गर्न सकिन्छ । बिवाहअघिका दिनहरुको सम्झना गर्न सकिन्छ । प्रकृतिको कुरा गर्न सकिन्छ । फिल्मको विषयमा कुरा गर्न सकिन्छ । पुस्तकको बारे चर्चा गर्न सकिन्छ ।
बेडरुममा रमाइलो
साँझ भान्सामा काम गर्न फुर्सद भएन वा खाना खाइसकेपछि टहल्न जाने मुड पनि चलेन । त्यसो भए बेडरुममा सुत्नुअघि पत्नीसँग रमाइलो पल किन नविताउने ?
राती सुत्नुअघि जब ओछ्यानमा पुगिन्छ, पत्नीसँग रोमाञ्चक कुराहरु गर्न सकिन्छ । ठट्यौली गर्न सकिन्छ । रमाइलो पुस्तक पढेर सुनाउन सकिन्छ । आफुले दिनभर भोगेका रमाइला क्षणहरु सुनाउन सकिन्छ । आफ्नो योजना शेयर गर्न सकिन्छ ।
शनिबारलाई बिषेश बनाउने
कम्तीमा सातामा एक दिन पत्नीलाई विश्राम दिन सकिन्छ । अन्य दिन छोराछोरी विद्यालय पठाउनुपर्ने हुन्छ । पतिलाई अफिस । घरधन्दाको सबै काम गृहणीले सम्हाल्नुपर्छ । शनिवारको दिन परिवारका अरु सदस्यले काममा जानु पर्दैन । यो एक दिन पत्नीलाई फुर्सदमा विताउन किन नदिने ?
परिवारका अन्य सदस्य मिलेर खाना तयार गर्ने । घर सफा गर्ने । पत्नीलाई शनिबार एक दिन विशेष महसुष गराउन सकिन्छ ।
बिवाहको बाषिर्क उत्सव
हरेक दिन कुनै समय, सातामा एक दिन वा बर्षमा एक दिन पत्नीका लागि विशेष होस् । यसका लागि वाहानाको कमी छैन । त्यो दिन आफ्नो बिवाहको बाषिर्क उत्सव हुनसक्छ, पत्नीको जन्मदिन हुनसक्छ ।
बर्षमा एक दिन बिवाहको बाषिर्क उत्सव हरेक दम्पतीका लागि खास हुन्छ । यद्यपी कतिपयले यस अवसरलाई ख्याल गर्दैनन् ।
आफ्नी पत्नीको जीवनमा नयाँ उमंग ल्याउनका लागि यो सर्वोत्तम मौका हो । विवाहको बाषिर्क उत्सव यसरी मनाउँन सकिन्छ, जसले पत्नीले सम्पूर्ण बोझ बिसाएर उन्मुक्त रमाउन सकोस् ।
यसका लागि केहि योजना बनाउन सकिन्छ । संभव भए पति-पत्नी एक रातको लागि घर बाहिर गएर रमाइलो गर्न सक्छन् । रिसोर्ट वा कुनै प्रेमिल गन्तव्य हुनसक्छ, जहाँ दुबैमा उमंग जाग्छ ।
यदि बाहिर जाने अनुकुलता छैन भने घरमै पनि रमाइलो गर्न सकिन्छ । यद्यपी खानेकुरा बनाउने, भाँडावर्तन सफा गर्ने काम अरुले नै सम्हाल्नुपर्छ । पत्नीले स्वतन्त्र ढंगले मनोरञ्जन लिन सकोस् ।
बच्चाको सफलतामा सेलिब्रेसन
बच्चाले कुनै कुरामा सफलता हासिल गरेको छ भने त्यो मौका किन गुमाउने ? आखिर घर-परिवारमा रमाइलो गर्नुछ ।
बच्चाले कहिले राम्रो नतिजा हासिल गर्छ, कहिले खेलकुदमा प्रगति गर्न सक्छ । कहिले गीत गाएर मेडल ल्याउन सक्छ, कहिले क्रिकेट खेलेर । यस्तो मौकाहरुमा सबै मिलेर केहि न केहि योजना बनाउन सकिन्छ, ताकि पारिवारिक माहौल रमाइलो बनोस् ।
यद्यपी यो रमाइलोमा बच्चासँगै पत्नीलाई विशेष महत्व दिनुपर्छ । यसले बच्चालाई सकारात्मक उर्जा प्रदान गर्छ । पारिवारिक जीवन सुमधुर हुने त छँदैछ । २०७४ पुष