रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ। देवदह–२, ढेकावारमा आज बिहान ११ बजे फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि गोली प्रहार भएको हो।
गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए।
मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको टाउको मा गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ। पौडेल एमाले नेता निलकण्ठ पौडेलका छोरा हुन।
पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी जिम्मा लिएका छन्। बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन्। पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। वर्षैपिच्छे गोली हानेर हत्या भएपछि देवदहका स्थानीय त्रसित बनेका छन्। पुष २१ ,२०७४