प्रदेश ५ को राजधानीलाई लिएर वाम गठबन्धनका नेताहरु दुई खेमामा विभाजित देखिएका छन् । यो प्रदेशमा गठबन्धनको दुई तिहाई पुग्ने देखिन्छ र एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री पक्काजस्तै छ । तर, प्रदेशको राजधानी दाङलाई बनाउने कि बुटवल भन्ने बहसमा वाम गठबन्धनका नेताहरु दुई धारमा देखिएका छन् ।
भावी मुख्यमन्त्री पोखरेल दाङका हुन् र उनी दाङलाई नै प्रदेशको राजधानी बनाउने सोचमा छन् । त्यसतर्फ संकेत गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले भनेका छन्, बुटवलबाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसोभए हामी सडकमा उत्रिन्छौं ।’
विभाजित वाम गठबन्धन
बुटवलका एमाले उपमहासचिव पौडेल अखण्ड लुम्बिनीको माग गर्दै भएको बटौली आन्दोलनका अगुवामध्ये एक हुन् । यो आन्दोलनमा उनीसँगै एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेसका चन्द्र भण्डारी र माओवादीका टोपबहादुर रायमाझी पनि थिए ।
बटौली आन्दोलनका अगुवाहरु अहिले पनि बुटवललाई राजधानी बनाउनुपर्ने मत राख्छन् । यसमा एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल पनि थपिएका छन्, जो रुपन्देही ३ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । कांग्रेस नेता बालकृष्ण खाँड पनि बुटवललाई नै राजधानी बनाउनुपर्ने मत राख्छन् । तर, उनीहरु सबै (खाँडबाहेक) प्रदेशसभामा नभई प्रतिनिधिसभा सदस्य चुनिएका छन् ।
अर्कोतिर दाङलाई राजधानी बनाउनुपर्छ भन्ने मत राख्नेहरु पनि हेभिवेट नेताहरु नै छन् । पोखरेलसँगै माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन, एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितका वाम गठबन्धनका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने समूहमा छन् ।
यो विवादमा एमाले उपाध्यक्ष बामदेव गौतमले भने आफ्नो मौनता तोडेका छैनन् । उनी बर्दियाबाट चुनाव लडेका थिए तर, कांग्रेसका सञ्जय गौतमसँग पराजित भए । पुस-७, २०७४