वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्वर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी विस्फोट भएको छ । श्रेष्ठले चुनाव प्रचारमा प्रयोग गर्दै आएको बा २ च ९४६३ नम्वरको गाडीमा नचिनेका मान्छेको समूहले सुतली बम विस्फोट गराएको हो ।
गोरखा नगरपालिका १० स्थित सिर्दिखोला नजिकै भएको विस्फोटमा गाडीको अगाडिको सिसा र नम्बर प्लेटमा क्षति पुगेको घटनास्थल पुगेका गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो । “उम्मेदवार श्रेष्ठ र हितराम पाण्डे लगायत नेता १२ किलो भन्ने ठाऊँमा बैठकमा बस्नुभएको रहेछ, त्यही बेला गाडी धोइपखाली गर्न खोलातर्फ जाँदै गर्दा विस्फोट गराइएको रहेछ” उहाँले भन्नुभयो, “सुरुदेखिनै वाम गठबन्धनले प्रयोग गर्दै आएको गाडीमा विस्फोट भएकाले उम्मेदवार प्रतिनै लक्षित थियो कि भन्ने आशंका गर्न सकिन्छ ।”
घटनामा कुनै मानवीय क्षति भने भएको छैन । घटनास्थल गोरखा सदरमुकामबाट बढीमा आधा घण्टाको दूरीमा रहेको छ । विस्फोट कसले गराएको भन्ने यकिन भएको छैन तर यसअघि देशका विभिन्न ठाउँमा विप्लव नेतृत्वको नेकपाले वाम गठवन्धनका उम्मेदवारलाई लक्षित गरेर विस्फोट गराउँदै आएको छ । चुनावी सुरक्षालाई ध्यान दिँदै गोरखा प्रशासनले विप्लव समूह निकट ५ जनालाई मंगलबार पक्राउ गरेको छ ।
चुनावको केन्द्रीय सुरक्षा योजनामा गोरखाको निर्वाचन क्षेत्र नम्वर २ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । त्यहाँ वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठवन्धनबाट नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।