नवलपरासीको दलदले डेढगाउँ सडकखण्डको बुलिङ्गटार गाउँपालिका–६ भारतीपुरमा बुधबार राति ट्याक्टर भिरबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दलदलेबाट बुलिङ्टार गाउँपालिका–६ शितलपुरका लागि सामान लिएर छुटेको लु ३ त ६८०३ नम्बर ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घुम्ती साँघुरो भएका कारण मोड्ने क्रममा दुर्घटना भएका प्रहरीले बताएको छ ।
दुर्घटनामा परी नवलपरासी बुलिङ्गटार गाउँपालिका–६ बस्ने १७ वर्षका राजु वि.क., ४८ वर्षका प्रेमबहादुर सार्की, देवचुली नगरपालिका–५ बस्ने २० वर्षकी जुनी मगर, २२ वर्षका भिमबहादुर मगर, १८ वर्षका दिपु नेपाली र १९ वर्षका जसबहादुर परियार गम्भिर घाइते भएका छन् ।
घाईते मध्ये ३० वर्षका अर्जुन राई र २१ वर्षका दानबहादुर पुनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैको भरतपुरमा उपचार भईरहेकोे छ । ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । कार्तिक-२३, २०७४