8.1 C
Kathmandu
Flowers in Chania

एमाले र माओवादीको घोषणापत्रः न कार्यकारी प्रमुख, न राष्ट्रवाद !

- Advertisement -

वाम गठबन्धनले अधिनायकवादी शासन व्यवस्था ल्याउन लागेको कांग्रेस नेताहरुले आरोप लगाइरहेका बेला एमाले र माओवादीले मंगलबार संयुक्त घोषणापत्र जारी गरेका छन् । वाम दलको साझा घोषणापत्रमा संसदीय व्यवस्थाको विकल्प खोज्ने विषय उल्लेख छैन ।

एमाले र माओवादीले आम चुनावपछि परम्परागत संसदीय प्रणालीको विकल्पमा कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको प्रयत्न गर्ने कांग्रेस नेताहरुले दाबी गर्दै आएका छन् । र, यही आधारमा वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको आरोप कांग्रेस नेताहरुले लगाउँदै आएका छन् ।

दशैंका बेलामा वाम गठबन्धनको घोषणा भइरहँदा डा. बाबुराम भट्टराईले कार्यकारी राष्ट्रपतीय प्रणालीका लागि आफू एमाले र माओवादीसँग नजिक भएको बताएका थिए । तर, बाबुराम भट्टराई गठबन्धनबाट बाहिरिसँगै एमाले र माओवादीले यो मुद्दा उठाएका छैनन् ।

मंगलबार जारी एमाले र माओवादीको संयुक्त घोषणापत्रमा कार्यकारी राष्ट्रपतीय वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीबारे एक शब्द पनि उल्लेख गरिएको छैन ।

वाम गठबन्धनको साझा घोषणापत्रमा यही संविधान कार्यान्वयनमा जोड दिइएको छ । तर, संसदीय व्यवस्थाको विकल्प खोज्ने कुरा गरिएको छैन ।

यसबारे एमालेका एक उच्च तहका नेताले अनलाइनखबरसँग भने- ‘हाम्रो अहिलेको एजेण्डा भनेको संविधान कार्यान्वयन नै हो, त्यसैले संविधानले व्यवस्था गरेका संरचनाको विकल्प खोज्ने हाम्रो चुनावी एजेण्डा होइन ।’

एमाले माओवादीको साझा घोषणापत्रको ७ औं पृष्ठमा भनिएको छ- संविधानको मार्यनिर्देशनवमोजिम अगाडि बढ्न हामी प्रतिवद्ध छौं, संविधानसम्मत समाजवादोन्मूख प्रणालीलाई भत्काएर राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने प्रयासलाई भने सफल हुन दिने छैनौं ।’

‘राष्ट्रवाद’ र संविधान संशोधन पनि ओझेलमा

एमाले-माओवादीको ४८ पृष्ठ लामो घोषणापत्रमा एमालेले विगतमा प्रयोग गर्दै आएको ‘राष्ट्रवाद’ र माओवादीले भन्दै आएको मधेस मुद्दा सम्वोधनका लागि ‘संविधान संशोधन’ यी दुबै विषयहरु परेका छैनन् ।

बरु घोषणा पत्रमा चीनसँगसँगै भारतसँग पनि घनिष्ट सम्बन्ध बनाउने बताइएको छ । घोषणा पत्रको १३ औं पृष्ठमा भनिएको छ-‘छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाइने छ ।’

वामपन्थी गठबन्धनको घोषणापत्रमा छिमेकी तथा बाह्य मुलुकसँग गरिएका सबै असमान र अपमानजनक सन्धी सम्झौताहरुलाई राष्ट्रिय हितअनुरुप प्रतिस्थापन गरिने बताइएको छ ।

तर, कुन कुन सन्धीहरु त्यस्ता असमान र अपमानजनक हुन् भन्ने स्पष्ट उल्लेख गरिएको छैन । भारतीय पक्षसँग भएका महाकाली सन्धी, १९५० को सन्धी, अपर कर्णाली, अरुण तेस्रोदेखि लिएर चिनियाँ पक्षसँग गरिएको बूढी गण्डकी आयोजना सम्बन्धी सम्झौताबारे नेपालमा बहस हुँदै आए पनि एमाले र माओवादीको घोषणापत्रमा यसबारे स्पष्ट पारिएको छैन ।

त्यसै गरी मधेसको मागलाई सम्वोधन गर्न संविधान संशोधन गर्ने विषय पनि वाम गठबन्धनको घोषणापत्रमा परेको छैन । घोषणापत्रमा ‘राष्ट्रवाद’ भन्ने एउटा पनि शब्द परेको छैन ।

वाम गठबन्धनको घोषणापत्रको राजनीतिक पाटो यस्तो छः

संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनको महान् उपलब्धिका रूपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेला राष्ट्रको मुख्य कार्यभार हो । निर्दिष्ट समयसीमाभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले त्यस कार्यभारलाई पूरा गर्दछ । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको परिप्रेक्ष्यमा आगामी मंसिर १० र २१ गतेे संघ र प्रदेश तहको निर्वाचन सम्पन्न हुने क्रमसँगै संविधान कार्यान्वयनको मुख्य कार्यभार पूरा हुनेछ ।

राष्ट्रको यो युगान्तकारी परिवर्तनका लागि नेपाली जनताले विगत ७० वर्षदेखि अनेकौं शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरू सञ्चालन गरेका छन् । यी संघर्षका क्रममा हजारौं योद्धाहरूले आफ्नो जीवन बलिदान गरेका छन्, हजारौं योद्धा बेपत्ता भएका छन्, हजारौं घाइते र अंगभंग भएका छन् । यसक्रममा कैयौं व्यक्तिले कठोर जेलसजाय भोगेका छन् र आन्दोलन सञ्चालनका निम्ति भूमिगत जीवन बिताउन बाध्य भएका छन् । यी सबै संघर्षहरूको परिणाम नेपालमा हजारांै वर्षदेखि कायम राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान जारी भई परिवर्तनका महान् उपलब्धिहरू संस्थागत भएका छन् ।

मुलुकमा यो ऐतिहासिक परिवर्तन ल्याउने शान्तिपूर्ण तथा सशस्त्र संघर्षहरू, झापा विद्रोह तथा माओवादी जनयुद्ध एवं मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायले चलाएका संघर्षहरूमा आˆनो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्दछौं, घाइते योद्धाहरूलाई अभिवादन गर्दछौं तथा यी सम्पूर्ण संघर्षहरूमा भाग लिने जनसमुदायलाई कृतज्ञता भावसहित अभिनन्दन गर्दछौं । हामी महान् सहिदहरू, आन्दोलनका अग्रजहरू, आन्दोलन र संघर्षका योद्धाहरू एवं आमजनसमुदायको सपना, अपेक्षा र आकांक्षा पूरा गर्ने दृढसंकल्प गर्दछौं ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यापक उत्साहका साथ सहभागी हुन हामी सम्पूर्ण मतदातालाई हार्दिक आह्वान गर्दछौं । यस निर्वाचनमा सही एवं योग्य जनप्रतिधिहरू चयन गरी नयाँ संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक-आर्थिक रूपान्तरणलाई साकार पार्ने कार्यमा योगदान गर्न हामी हार्दिक एवं विनम्र अनुरोध गर्दछौं । कार्तिक- २२, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्