प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी प्रत्यक्ष तर्फको उमेदवारी दर्ता आज हुदैं छ । नवलपरासी दुईवटा जिल्ला भएपछि पहिलो पटक नवलपरासीको सुस्ता पुर्व नवलपुर र नवलपरासी सुस्ता पश्चिम परासीमा दुई छुट्टा छुट्टै स्थानमा उमेदवारी दर्ता हुदैं छ ।
नवलपुर क्षेत्रमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा र त्यसै गरी परासी क्षेत्रमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा आजै उमेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । दर्ताको लागी छुट्टा छुट्टै समय तोकेर पार्टीलाई जानकारी गराई सकेको आयोगले जनाएको छ ।
दलहरुले समेत उमेदवारी दर्ताको लागी तयारी गरी रहेको नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेले बताए । नेकपा एमालेका जिल्ला सदस्य भिमलाल कंडेलले उमेदवारी दर्ताको लागी बाजा समेत तयार गरेको हुलाकी पत्रलाई जानकारी गराएका छन् ।
प्रदेश नं ४ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र गरी दुई जिल्लाबाट ४लाख २९ हजार ८९४ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयले जनाएको छ ।
नवलपुर क्षेत्र अर्थात नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को जिल्लामा दुई लाख २१ हजार ६६२ जना मतदाता छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्लामा दुई लाख आठ हजार २३२ जना मतदाता रहेको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका जिल्ला निर्वाचन अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना यस अगावै गरिसकिएको छ ।
नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिएका छन् ।कार्तिक-१५, २०७४