प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार बिहान पक्राउ परेका छन् । उनि साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किएका बेला पक्राउ परेका हुन् । सातदोबाटो चोकबाट केही भित्री गल्लीमा उनको डेरा थियो ।
ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए, ४/५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए ।
‘तपाई हाम्रो अफिसमा जानुपर्यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन ।
प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्यायो । ढुंगेलका आफन्तले दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो । कार्तिक-१४, २०७४