आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुँदैछ ।
यसैगरी पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुँदैछ ।
पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ । २०७४, कार्तिक-५