प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् । मंगलबार अपराहृन नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो । माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले आफैं राखेका छन् ।
शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रंधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।
यसै बीच प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए । माओवादी मन्त्रीहरुले राजीनामा नदिएपछि प्रधानमन्त्रीले जिम्मेवारी खोसेका छन् । गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन् । २०७४, असोज-३१