नेपाल सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीले व्यवस्थापन समुह नै फेर्न लागेको छ ।
गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले नर्थ वेस्ट कम्पनीले म्यानेजरका साथै विज्ञहरुको टोली फेर्न लागेको बताएका छन् । काममा तिब्रता दिन नसकेका म्यानेजर सो जुनलाई कम्पनीले फिर्ता बोलाइसकेको छ । अब उनको ठाउँमा नयाँ म्यानेजर सु बैंग आउन लागेका छन् ।
शर्माका अनुसार म्यानेजर सो जुनसँग अंग्रेजी भाषाको दख्खल पनि थिएन, जसका कारण नागरिक उड्डयन प्राधिकरणको टोलीहरुलाई उनीसँग कुराकानी गर्न पनि कठिन भइरहेको थियो । त्यसैले आयोजनाले नर्थ वेस्टलाई अंग्रेजी भाषामा समेत दख्खल राख्ने व्यक्तिलाई नयाँ म्यानेजरका रुपमा पठाउन भनेको थियो ।
सोहीअनुरुप अंग्रेजी भाषामासमेत दख्खल राख्ने बैंगलाई नर्थ वेस्टले म्यानेजरका रुपमा पठाउने निर्णय गरेको आयोजनाका अधिकारीले जानकारी दिए ।
म्यानेजरसँगै कम्पनीले अन्य चार जना विज्ञको टोली पनि परिवर्तन गर्न लागेको छ । अहिले यस आयोजनाका लागि भनेर नर्थ वेस्टले ६ जना विज्ञको टोली खटाएको छ ।
कामदार थप गरिँदै
नर्थ वेस्टले केही कामदारहरु पनि थप गरेको छ । सरकारले ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले दोब्बर भन्दा बढी कामदार थपेको शर्मा बताउँछन् ।
उनले भने ‘अहिले कामदार थप गरेको छ भने व्यवस्थापन समूह पनि फेर्न लागेको छ, यसले काममा सुधार ल्याए अर्काे कम्पनी खोज्नु उपयुक्त हुँदैन ।’
सरकारले चेतावनी दिनुअघि यो कम्पनीले आयोजनास्थलमा जम्मा ७० जना मात्रै कामदार खटाएको थियो । तर, अहिले भने यसले १ सय ७४ जना कामदार मार्फत काम गराइरहेको छ । समयमै निर्माण सम्पन्न गर्नका लागि भने कम्तिमा पनि २ सय कामदारको आवश्यकता पर्ने शर्मा बताउँछन् । भदौ-२९, २०७४