नवलपरासीको प्रदेश ४ अन्तर्गत पर्ने नवलपुर छुट्टै जिल्ला बन्ने भएसँगै यहाको व्यवस्थापनको विषयमा दलहरु लागिपरेका छन् । सदरमुकाम कहाँ राख्ने भन्ने विषयमा राजनीतिक दल लगभग टुंगोमा पुगेका छन् । तर अब नवलपुर क्षेत्रको सदरमुकामलाई कसरी व्यवस्थित बनाउने साथै जिल्लालाई कसरी सम्बृद्ध बनाउने भन्ने बहसहरू हरेक तहमा हुन थालेका छन् ।
यस्तै बहसका लागि बिहीबार कावासोतीमा सर्वदलीय बैठक बसेर नवलपुर जिल्लाको गुरुयोजनाका सन्दर्भमा छलफल भएको छ। छलफलमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा शसांक कोइरालादेखि विभिन्न पार्टीका जिल्ला प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
बैठकमा कांग्रेस महामन्त्री डा. शसांक कोइरालाले नवलुर धेरै सम्भावनाको क्षेत्र भएको बताउँदै यसका लागि दीर्घकालीन योजना बनाई अगाडि बढनुु पर्ने बताउनुभयो । ४ नम्बर प्रदेश आफैंमा महत्वपूर्ण रहेको र त्यसमा पनि नवलपुर पर्यटन र कृषिका लागि अझ महत्वपूर्ण क्षेत्र रहेको उहाँले बताउनुभयो । यस क्षेत्रको सांसद भएका कारण नवलपुरको विकासका बारेमा आफू चिन्तित रहेको समेत उहाले बताउनुभयो ।
नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले ४ नम्बर प्रदेशको सुन्दरता भनेकै नवलपुर भएको भन्दै नवलपुरमा भएका सम्भावनाहरुलाई पहिचान गरी सामूहिक रुपमा आउने चुनौतीलाई व्यवस्थापन गरी अगाडि बढन आवश्यक रहेकोमा जोड दिनुभयो । त्रिवेणीदेखि घुमाउरीघाटसम्म प्राकृतिक रुपले भरीपूर्ण नवलपुर असंख्य सम्भावनाको क्षेत्र रहेको उहाँले बताउनुभयो ।नवलपुरबासीले लामो समयदेखि भौगोलिक बिकटताका कारण समस्या झेल्दै आएकोमा अब नवलपुर छुट्टै जिल्ला भएको भन्दै यस क्षेत्रका बासिन्दाको समस्यालाई पहिचान गरी गुरु योजना बनाउनु पर्ने नेकपा एमाले नवलपुरका अध्यक्ष रोशन बहादुर गाहाले बताउनुभयो ।
विभिन्न पर्यटकीय, धार्मिक र भौगोलिक रुपमा पनि नवलपुर सम्भावनाको क्षेत्र रहेको भन्दै अब नवलपुरलाई अब्बल जिल्लाको रुपमा अगाडि बढाउन सबै एक मत भएर लाग्नु पर्नेमा समेत उहाँको जोड थियो । विकासको योजना बनाउदा भोलिको दिनलाई लक्षित गरी बनाउनु पर्ने नेकपा मावोवादी केन्द्र नवलपुरका इन्चार्ज किसन शर्मा गैह्रेले बताउनुभयो । पर्यावरणीय विषयलाई मध्यविन्दुमा राखी गुरु योजना बनाउनदा दीर्घकालीन हुने उहाँले बताउनुभयो । भदौ-२२, २०७४