27 C
Kathmandu
Saturday, July 31, 2021

दार्जिलिङमा सुरक्षाकर्मीको गोलीबाट ९ को मृत्यु, नाकाबन्दीले खाद्यान्न चरम अभाव

- Advertisement -
- Advertisement -spot_imgspot_img

एजेन्सी, छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलनका कारण भारत पश्चिमबंगालका पहाडी जिल्लाको जनजीवन कस्टकर भएको छ। महिनादिनभन्दा लामो आमहड्ताल र झडपले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन उकुसमुकुस भएको छ भने खाद्यान्नको चरम अभाव हुन थालेको छ।

लगातार भइरहेको आमहड्तलका कारण यहाँ खाद्यान्न अभाव हुँदा दार्जिलिङ र मिरिकबासीले नेपाली सीमावर्ती क्षेत्रका बजारसम्म आएर खाद्यान्न ओसार्न थालेका छन्। उनीहरूले आफ्नो बजारमा जंकफुडसमेत पाइन छाडेपछि पशुपतिनगर, सन्दकपुर, मानेभञ्ज्याङ, छिरुवालगायत नेपाली बजारहरूमा आएर चामल, दाल, चाउचाउ र बिस्कुटजस्ता खाद्यान्न लैजान थालेको स्थानीय व्यापारीले बताएका छन्। आममड्तालका कारण सवारी साधन नचल्दा दार्जिलिङ र मिरिकबासी यहाँसम्म पैदलै आउन थालेका छन्।

इलामको पूर्वी जोगमाई, मानेभञ्ज्याङलगायतका यातायात व्यवसायीले भने यताको चामल, दूध, अन्नलगायत सीमावर्ती बजारसम्म पुर्‍याइदिने गरेका छन्। त्यसपछि उताबाट पैदलै आएका उपभोक्ताले उनीहरूले पुर्‍याएका खाद्यान्न लैजाँदैछन्। इलामका दर्जनौं गाउँका किसानका छोराछोरी भारत दार्जिलिङका निजी विद्यालयहरूमा पढिरहेका छन्। आन्दोलनक्रममा स्कुलहरू ठप्प भएपछि ती बालबालिकामध्ये केहीलाई घर फर्काइएको छ भने केही उतै बसिरहेका छन्।

पश्चिमबंगालका विभिन्न स्थानमा रहेका आफन्तले समेत खाद्यान्न अभाव भएकाले पठाइदिन आग्रह गर्न थालेको जोगमाईका सोनम योल्मुले बताए। ‘यता त खानसमेत पाइन छाड्यो, दाल–चामल पठाएदिनुभए बाँचिनेथियो,’ दार्जिलिङका आफन्त दाबा तामाङले गरेको आग्रह सुनाउँदै योल्मुले सुनाए, ‘चाउचाउसमेत पाइन छाडेकाले उता (दार्जिलिङ)का मान्छे निकै अताल्लिएका छन्।’  यातायात व्यवसायी नोर्बु लामाले पनि अहिले नेपाली गाउँबाट दाल–चामल, मकै र गहुँको पिठोसमेत मानेभञ्ज्याङ र सुकियासम्म पुर्‍याउने गरेको बताए ।

गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि पश्चिमबंगाल सरकारले पहाडी जिल्लामा ‘अघोषित रूपमा’ खाद्यान्न ढुवानी बन्द गरिदिएको छ। खाद्यान्न बोकेका कुनै पनि ठूला सवारी ३ सातादेखि पहाड नउक्लिँदा अभाव आकाशिएको हो। ‘आन्दोलन चलिरहेका बेला सरकारले पनि चामल ढुवानी नै रोकिदियो,’ दार्जिलिङका होटल व्यवसायी विजय गुरुङ भन्छन्, ‘बन्दले सबै क्षेत्र ठप्प त भएकै छ, मान्छे मारिने र घाइते हुने दिनहुँको घटनाले अब कहिलेसम्म दार्जिलिङमा यस्तै अवस्था रहने हो भन्ने पो अन्योल भो।’

मंगलबारसम्ममा दार्जिलिङ र मिरिकमा भएका झडपमा मात्रै सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। आन्दोलनरत गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जिएमसिसी) का १ कार्यकर्ताको सुरक्षाकर्मीको गोलीले सोमबार राति पनि मृत्यु भएको हो।

मिरिकमा तृणमूल कंग्रेसका कार्यकर्तासँग भएको झडपमा प्रहरीले गोली चलाउँदा मिरिक शंखमानका ४२ वर्षे आशीष तामाङको मृत्यु भएको आन्दोलनकारीले बताएका छन्।   गोर्खाल्यान्ड समर्थक र तृणमूल कार्यकर्ताबीच झडप भइरहेका बेला मोर्चा समर्थक आनन्द राई घाइते भएका थिए। झडपक्रममा एक गोर्खाल्यान्ड समर्थक युवकलाई प्रहरीले पक्राउ गरेपछि उनका सहयोगीले रिहाइ माग गर्दै प्रहरी थाना घेराउ गरेका थिए।

घेराउ क्रममा सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)ले गोली चलाउँदा तामाङको मृत्यु भएको हो। गोली लागेका तामाङलाई सुकियापोखरी अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको थियो। झडपमा केही प्रहरीसहित ५ भन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आक्रोशित भीडले प्रहरीका दुई सवारी र प्रहरी थानासमेत जलाइदिएको छ। झडप र मृत्युको घटनापछि रातिदेखि नै मिरिक तनावग्रस्त बनेको छ।

८ जुलाईको आन्दोलनक्रममा प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षे अशोक तामाङको उपचारक्रममा ३ दिनपछि (गत मंगलबार) मृत्यु भएको थियो। दार्जिलिङमा ८ जुलाईमै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तुङसुङका सुरज सुन्दास र रोपवेका समीर गुरुङको घटनास्थलमै तथा आशा कुमारको उपचारक्रममा त्यसै राति  मृत्यु भएको थियो।

७ जुलाईको राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का कार्यकर्ता टासी भोटियाको मृत्यु भएपछि दार्जिलिङमा ८ जुलाईमा त्यसविरुद्ध प्रदर्शन भएको थियो। गोर्खाल्यान्डकै माग राखेर प्रदर्शनमा उत्रिएका ३ जनाको गत १७ जुनमा प्रहरीको गोली लागी मृत्यु भएको थियो।

दार्जिलिङसहित पहाडी जिल्लाका स्कुल, कलेज, उद्योग, कलकारखाना, बजार, पसल, यातायातलगायत एक महिनाभन्दा बढी समयदेखि ठप्प छन्।

आन्दोलन उत्कर्षमा पुगिरहेका बेला आन्दोलनकारीले राज्य सरकारलाई असहयोग गर्न विभिन्न प्राकृतिक सम्पदामा समेत बाधा–अवरोध गरिरहेका छन्। उनीहरूले केही दिनअघि मङ्पु समष्टिमा रहेको १ सय ३२ मेगावाटको जलविद्युत् परियोजना बन्द गराएका थिए। पश्चिमबंगाल सरकारको ठूलो आम्दानीको स्रोत मानिने राष्ट्रिय जलविद्युत् परियोजना प्राधिकरण (एनएचपिसी) बन्द भएपछि यहाँबाट आपूर्ति गरिएको विद्युत् कटौती भएको छ। साउन-३, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्