27 C
Kathmandu
Saturday, July 31, 2021

सौराहा र नवलपरासीको पानीमा भेटियो आर्सनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, हामीले पिउने पानी कत्तिको शुद्ध छ कहिल्यै प्रयोगशालामा गएर परीक्षण गर्नुभएको छ ? हेर्दा सफा देखिने पिउने पानीमा आर्सेनिक र अन्य अखाद्य तत्वहरु घुलिएर आउन सक्छन् । अझै वर्षात्को समयमा त झनै ख्याल गर्नुपर्छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हाताभित्र रहेको क्षेत्रीय पानी परीक्षण प्रयोगशालाबाट पानीको परीक्षण गर्दा पूर्वी चितवनको पर्यटकीय सौराहा क्षेत्रका खानेपानीका ट्युवबेल र नवलपरासीको बर्दघाट र परासी क्षेत्रमा आंशिक रुपमा आर्सेनिकको मात्रा भेटिएको छ । प्रयोगशालाका प्रमुख योगेन्द्रदेवका अनुसार सो ठाउँबाट केही नमुना संकलन गरी परीक्षण गर्दा खाने पानीमा आर्सेनिकको मात्र भेटिएका हो । आर्सेनिक देखिएपछि सो पानीलाई पिउने प्रयोजनमा प्रयोग नगर्न र त्यसको विकल्प खोज्न रासायनविद् योगेन्द्रदेवले सुझाव दिएका छन् ।

त्यसैगरी भरतपुर खानेपानी व्यवस्थापन बोर्डबाट वितरण गरिएको पानीका केही नमुना परीक्षण गर्दा जीवाणु (फिक्कल) भेटिएको रसायनविद् देवले जानकारी दिए । खानेपानीका पाइप फुटेर जमिनको पानी मिसिँदा जीवाणु देखिएको हुन सक्ने उनको अनुमान छ ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डका प्रमुख प्रजापति दाहालले हरेक महिना कार्यालयले पानीको नमुना परीक्षण गर्दा व्याक्टेरिया नभेटिएको बताएका छन् । कुनै कुनै बोरिङबाट पानी रिर्जव ट्याङ्कीमा जम्मा नगरीसिधै पाइपलाइनाट उपभोक्ताको घरघरमा पठाउँदा क्लोरिनको मात्रा कम हुँदा कतै व्याक्टेरिया देखिन सक्ने र पाइपलाइन फुटेर व्याक्टेरियाको जीवाणु मिश्रण हुन सक्ने प्रमुख दाहालको भनाइ छ ।

ढिलै भए पनि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरले पानी परीक्षणको लागि सार्वजनिक सूचना जारी गरेको छ । सो कार्यालयले आफ्नो हाताभित्र रहेको क्षेत्रीय पानी परीक्षण प्रयोगशालामा आफ्नो धाराबाट पानीको नमुना ल्याई परीक्षण गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । २०६५ सालमा स्थापना भएको प्रयोगशालाबाट पानी परीक्षण गर्न ९ वर्षपछि पहिलो पटक सूचना जारी गरिएको सो कार्यालयले जनाएको छ ।

खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन तथा सेवा शुल्क असुली आन्तरिक निर्देशिका २०६८ अनुसार शुल्क निर्धारण गरी परीक्षण सुरु गरिएको सो कार्यालयका डिभिजन प्रमुख शालिकराम पौडेलले बताए । पानीमा रहेका विभिन्न अखाद्य वस्तु र जीवाणु (पारामिति) परीक्षणका लागि ३५ रुपैयाँ देखि ३ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने प्रमुख पौडेलले बताए ।

प्रयोगशालाबाट परीक्षण हुने गरेका ३३ वटा पारामितिमध्ये पानीमा रहेको धमिलोपना परीक्षणको लागि ५० रुपैयाँ र आर्सेनिक भए नभएको एकिन गर्न ३ सय ५० रुपैयाँ तिर्नुपर्छ । प्रयोगशालाबाट आर्सेनिक परीक्षण गर्ने दुई तरिका छन् । कीटबाट परीक्षण गर्दा आधा घण्टा समय लाग्ने र आधुनिक मेशिनबाट २० मिनेटमा पत्ता लगाउन सकिने प्रयोगशालाका प्रमुख क्यामिष्ट योगेन्द्र देवले जानकारी दिएका छन् ।

आधुनिक मेशिनबाट आर्सेनिकको मात्रा जाँच्नको लागि आर्गन ग्यास आवश्यक पर्ने सो ग्यास चितवनमा नपाइने हुनाले कीटको प्रयोग विधिबाट परीक्षण गरिएको उनले बताए । पानीमा रहेको अन्य पारामितिहरु एसिटाइलिन ग्यासबाट आधुनिक प्रविधियुक्र मेशिनबाट परीक्षण गरिएको रसायनविद् देवको भनाइ छ । सो मेशिनबाट पानीमा रहेको फलाम, तामा, जीन, लिड (सिसा), आल्मुनियम र आर्सेनिक पत्ता लगाउन सकिन्छ ।

भरतपुरमा रहेको क्षेत्रीय पानी परीक्षण प्रयोगशालाको कार्य क्षेत्र २९ जिल्ला रहे पनि प्रत्यक्ष रुपमा पानी परीक्षण गर्न उपभोक्ताहरु चितवन र नवलपरासीको केही ठाउँबाट मात्रै आउने गरेको प्रयोगशालाका सहायक रसायनविद् गोविन्द देवकोटा बताउँछन् । उनका अनुसार गत वर्ष १ सय ८२ वटा पानीका नमुनामा पारामिति परीक्षण गरिएको थियो । यसवर्ष कार्यालयले सार्वजनिक सूचना जारी गरेपछि दैनिक ५ देखि १० वटा पानी परीक्षणका लागि नमुना आउने गरेको उनले बताए ।

यसको अलवा प्रयोगशालाका कर्मचारी वर्षको एक पटक १९ जिल्लामा पुगेर पानीको नमुना संकलन गरी ल्याउने गरेको उनले बताए । यसको कार्यक्षेत्र मध्यमाञ्चल क्षेत्रका प्रदेश नं. २ का ६ वटा जिल्ला र प्रदेश नं. ३ का सबै जिल्ला रहेका छन् । असर- १८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्