गैडाकोट, स्थानीय तहको निर्वाचन २०७४ मा गैँडाकोटमा नेपाली काँग्रेस मेयर पदमा पराजित भएपछि कांग्रेसका विभिन्न पदमा रहेर काम गर्दै आएका पदाधिकारीहरुले राजिनामा दिएका छन् । पछिल्लो समय नेपाली काँग्रेस गैँडाकोट नगर कार्यसमितिका उपसभापति सहित सदस्यहरुले राजिनामा दिएका छन् । पछिल्लो समय गैँडाकोट नगर उपसभापति शोभाखर रिमाल, सदस्यद्वय तीर्थराज रिमाल र बालुराम कुमालले राजिनामा दिए । नगर सचिव मुकुन्द पौडेलले यस अघि नै राजिनामा दिईसकेका छन् उनि बाटै सुरु भएको राजीनामाको सिलसिला अझै रोकिएको छैन ।
नगर उपसभापति शोभाखर रिमालले केही दिन पहिले नै राजिनमा दिए पनि मिडियामा सार्वजनिक नभएको भन्दै आज सार्वजनिक गरिएको नगर सदस्य तीर्थराज रिमालले बताउनुभयो । नगर उपभापति रिमालले पार्टीको पराजय अकल्पनीय र नैतिताका आधारमा पराजयको जिम्मेवारी लिदै पदमा बसिरहन योग्य नठानी राजिनामा दिएको राजिनामा पत्रमा बताउनुभएको छ । रिमालले जेष्ठ ६ गते नै राजिनामा दिएको पत्रमा देखिन्छ ।
राजिनमा पत्र सार्वजनिक गर्दै नगरसदस्य तीर्थराज रिमालले काँग्रेसले विरासत बोकेको गैँडाकोटमा काँग्रेसका मेयर पद लगायत अन्य पदमा पराजय बेहोर्नु ठूलो चोट पुगेको बताउनुभएको छ । रिमालले राजिनामा पत्रमा लेख्नुभएको छ “ नेपाली काँग्रेसको विजय सुनिश्चित गर्न म आफू नगर सदस्य रहेर जिम्मेवारी वहन गर्दा गर्दै पनि अपेक्षित परिणाम आउन नसकेको कारणले नैतिक रुपमा पदमा रहिरहन उचित नदेखेकाले मैले जिम्मेवारी लिदै आएको नगर सदस्य, प्रशिक्षण विभाग प्रमुख, गैँडाकोट नगरपालिका गुरुयोजना तयारी समिति सदस्य पदबाट राजीखुसी राजिनामा गर्दछु ।”
यस्तै अर्का नगर सदस्य बालुराम कुमालले पनि नगरकार्यसमितिबाट राजिनामा पत्र सार्वजनिक गर्दै काँग्रेसको पराजय अकल्पनिय र ठूलो चोट पुगेको बताउनुभयो । कुमालले राजिनमामा पत्रमा उल्लेख गर्नुभएको छ “काँग्रेसको अपेक्षित परिणामा आउन नसकेका कारणले र नेतृत्वबाट नगरपालिकाको कार्यपालिकामा जाने आठ जना सदस्यहरु पार्टीको तर्फबाट विधि नपु-याई चयन गरेकोमा असहमति जनाउँदै नैतिक रुपमा पदमा रहन उचित नदेखेकोले राजिशुसी नगर सदस्य पदबाट राजिनमा दिन्छु ।”
सदस्यद्वय तीर्थराज रिमाल र बालुराम कुमालले जेष्ठ २७ गते राजिनामा दिनुभएको हो । यस अघि नै नेपाली काँग्रेस गैँडाकोट नगरसचिव मुकुन्द पौडेल, नगर कोषाध्यक्ष राजेश श्रेष्ठ, नगर सहसचिव विष्णुप्रसाद गौतमले राजिनामा पत्र सार्वजनिक गरिसक्नुभएको छ । राजिनामा पत्र सार्वजनिक भएपनि नगरसभापतिले अहिलेसम्म राजिनामा पत्र स्वीकृत गरिसक्नुभएको छैन । राजिनामा स्वीकृत गर्न समेत राजिनामा पत्रहरुमा उल्लेख गरिएको छ । नेतृत्व पंक्तिलाई सच्चिएर निर्णय लिन र अगाडि बढ्न राजिनामाले दबाब दिने नगरसदस्य रिमालले बताउनुभयो ।
नगरकार्यसमितिका पदाधिकारीहरुले सामाजिक सञ्जालतीर राजीनामा पत्र सार्वजनिक गरिरहेको तर आफू समक्ष नआएको नगर सभापति तारापति खरेलले बताउनुभयो । राजनीमा पत्र नगरसभापतिले बुझ्ने, तोक लगाउने र पार्टीभित्र छलफल गरी स्वीकृत गर्ने पद्धति भएपनि पद्धति अनुरुप कसैको पनि राजिनामा नआएको खरेलले बताउनुभयो । सामाजिक सञ्जालमा चर्चा बटुल्न राजनीमा दिएको हुन सक्ने खरेलले बताउनुभयो ।