बुटवल, दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका क्रममा नेपाली काँग्रेसले बुटवल उपमहानगरसहित रुपन्देहीका सबै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिले बुटवल उपमहानगरपालिकासहित जिल्लाका ६ नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
काँग्रेसले बुटवल उपमहानगरपालिकामा खिलराज पाण्डेलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै, तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँण, देवदह नगरपालिकामा हिराबहादुर खत्री, सैनामैना नगरपालिकामा फणीन्द्र शर्मालाई काँग्रेसको मेयरको उम्मेदवार बनाएको छ ।
यसैगरी, काँग्रेसले सिद्धार्थनगर नगरपालिकामा मात्रिकाप्रसाद यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खाँलाई मेयरको उम्मेदवार बनाएको छ । उम्मेदवारको टुंगो लाग्नुअघि नै काँग्रेस नेता कार्यकर्ता चुनावी प्रचारमा जुटेका थिए ।
तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरी काँग्रेसले चुनावी प्रचार अभियान तीब्र पारेका छन् । मेयरमा नेपाली काँग्रेस र उपमेयर र केही वडा जनमुक्ति पार्टीलाई दिइएको छ । बुटवलका बिभिन्न वडामा पनि काँग्रेस र जनमुक्ति बीच चुनावी तालमेल गरिएको नेपाली काँग्रेस रुपन्देही जिल्ला प्रचारप्रसार समन्वय समितिका संयोजक विश्वेश्वर प्रसाद बस्यालले जानकारी दिनुभयो ।जेठ-२३, २०७४