डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ । बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ पर्यो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।
सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले दिएको जानकारी अनुसार महाकाली अञ्चल प्रहरी कार्यालयमार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाइएको हो । ‘दुई देशको सम्वन्धको पनि कुरा आउँछ,’ देउजाले भने, ‘भारतीय प्रहरी भएको पुष्टि भइसकेपछि हामीले जताबाट आएका हुन्, उतै पठाइदियौं ।’ कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु सूचना नदिएर आएको पाइएको उनले बताए । प्रहरी नायव महानिरीक्षक देउजा भन्छन्, ‘उनीहरुले सूचना नगरेर आएकोमा माफी मागिसकेका छन्, त्यसैले हामीले भारतीय प्रहरीलाई जिम्मा लगाएका छौं ।’ त्योभन्दा अरु कुनै कारवाही गर्ने कानुनी प्रानधान नरहेको देउजा बताउँछन्