शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि राति निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा हिजो नै मृत्यु भएको थियो ।
काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका कारण चालक राईको उद्दारमा कठिनाई भएको थियो ।
लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए ।
घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल राजधानी पठाइएको छ । चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत शव बिहान ७ : ३० बजे एयर डाइनेस्टीको हेलिकप्टरबाट राजधानी पठाएको प्रहरीले जनाएको छ ।
उद्दार लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको सोलखुम्बु प्रहरीले जनाएको छ ।
उद्दारपछि लुक्ला अस्पताल भर्ना गरिएका उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउन भन्दै फेरि विमानस्थल ल्याइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि फेरि फर्काएर लुक्ला अस्पतालमा नै लगिएको थियो ।जेठ-१४, २०७४