कावासोती, नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट नव निर्वाचित महिला जनप्रतिनिधीहरुले सर्वप्रथम महिलाको हक अधिकार सुनिश्चितताका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
क्रियाशिल पत्रकार महिला नवलपरासीको आयोजनामा आज कावासोतीमा भएको महिला जनप्रतिनिधीहरुको भावि योजना सम्बन्धि छलफल कार्यक्रममा सहभागि महिला जनप्रतिनिधीहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन । कार्यक्रममा सहभागि महिला जनप्रतिनिधीहरुले आफुहरु जुनुसुकै पार्टीबाट निर्वाचित भएर आएको भए पनि अब सबैको साझा भएर काम गर्ने समेत बताएका छन । पहिलो पटक यसरी जनताको प्रतिनिधीका रुपमा आफुहरु अगाडि आएकाले धेरै कुरा नया भएको र आगामि दिनमा सिक्दै र गर्दै जाने समेत उनीहरुले बताएका छन ।
कार्यक्रममा बोल्दै कावासोती वडा नम्बर १३ बाट दलित महिला सदस्यमा निर्वाचित हुनुभएकी कलिया मुसहरले आफ्नो वडामा माझी ,मुसहर, थारु जस्ता आदिवासी , अल्पसंख्यक , पिछडिएको समुदायको बढि बाहुल्याता रहेको र आफ्नो समुदायमा महिलाहरु अझै पनि धेरै पछाडी परेकाले आफुले अब महिलाको आर्थिक, सामाजिक विकासका लागि अग्रसर भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कावासोतीको वडा नम्बर ९ बाट दलित महिला सदस्यमा निर्वाचित हुनुभएकी रेश्मी परियारले आफु दलित समुदायबाट प्रतिनिधित्व गरेकाले आफ्नो समुदायको हक अधिकार प्राप्तीका लागि लागि पर्ने बताउनुभयो । उहाले अझै पनि समुदायमा जातपात र छुवाछुत , भेदभाव जस्ता प्रथा कायमै रहेकाले यसलाई निरुत्साहित गर्नका लागि लाग्ने र संचार माध्यमले पनि यसमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसैगरि वडा नम्बर १२ बाट महिला सदस्यमा निर्वाचित ज्ञानु सर्माले आफु १२ नम्बर वडाबाट निर्वाचित भएको भएपनि कावासोती नगरकै लागि आफुले काम गर्ने बताउनुभयो । उहाले महिलामाथी हुने हिंसा विरुद्ध आफु शशक्त रुपमा खडा हुने र समग्र कावासोती नगरबासिका समस्या समाधान र नगरको विकासका लागि आफु कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाका १७ वटा वडामा महिला सदस्य , दलित महिला सदस्य , तथा खुल्लातर्फबाट निर्वाचित हुनुभएका महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
क्रियाशिल पत्रकार महिला नवलपरासीकी अध्यक्ष धनु भुषालको अध्यक्षतामा भएको कार्यक्रममा ,सदस्य पुजा चापागाईको स्वागत मन्तव्य राखनुभएको थियो भने , सस्थाका उपाध्यक्ष ज्ञानु पंगेनीले कार्यक्रम संचालन गर्नुभएको थियो । जेठ-१३, २०७४