चैत-१६, नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको छ । महासंघले सोही अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नवलपरासी शाखाले आज दुई स्थानमा फलफुल वितरणको कार्यक्रम गरेको छ । कावासोती-११ पिठौलीमा रहेको लक्ष्मी नारायण ब्रिद्धाश्राममा अध्यक्ष होमराज रानाभाटको नेतृत्वमा र परासीको पृथ्वी चन्द्र अस्पतालमा उपाध्यक्ष हरी शर्माको नेतृत्वमा फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले बुधबार दिउँसो एक बजे महासंघ कार्यालय संचारग्राममा शुभकामना आदानप्रधान तथा चियापान कार्यक्रम आयोजना गरिएको महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए । स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महासंघका अध्यक्ष महेन्द्र विष्टले प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक रुपमा कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको बताएका छन् ।
‘मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’अध्यक्ष विष्टले विज्ञप्तिमार्फत भनेका छन्, ‘नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीीचबाट गुज्रिरहेको छ । दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ ।’