चैत-१५, काठमाडौ, सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ । खाडी मुलुकमा नेपाली कामदारहरुको समस्याबारे स्थलगत अध्ययन गर्न गएको व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले सरकारी अधिकारीहरुकै सेटिङमा खाडी मुलुकमा नेपाली चेलीहरु बेचिन बाध्य भएको पाइएको जानकारी गराएको हो ।
समितिका सभापति प्रभु साह नेतृत्वको टोलीले साउदी अरव, कुवेत, कतार र यूएईको स्थलगत भ्रमणका क्रममा यस्तो भेटाएको हो । भ्रमण सकिएलगत्तै मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै समितिका सभापति साहले चारैवटा मुलुकमा नेपाली कामदारको अवस्था दयनीय भएको पाइएको बताए ।
‘सरकारी अधिकारीहरुकै सेटिङमा नेपाली चेली खाडी मुलुकमा ४ लाखसम्ममा बेचिने गरेको पाएका छौ’ पत्रकार सम्मेलनमा साहले भने, ‘नेपाली कामदारहरु दोहोरो श्रम सम्झौताको मारमा परेका छन् तर, त्यहाँस्थित नेपाली कूटनीतिक नियोगले कुनै पहल गरेको पाइएन ।’
सभापति साहले नेपाली कूटनीतिक नियोग र विमानस्थलमा रहेको अध्यागमन विभागको लापरबाहीका कारण नेपाल मानव तस्करको ट्रान्जिट प्वाईन्ट बन्दै गएको स्थलगत भ्रमणका क्रममा खुलेको बताए । संसदीय टोलीले श्रम सम्झौंता अनुसारको काम तथा सेवा र सुविधा नदिएर नेपाली कामदारमाथि पीडा थप्ने काम पनि खाडी मुलुकहरुले गरेको पाइएको साहको भनाई थियो ।
समितिले नेपाली म्यानपावर कम्पनीहरुले नेपाली कामदारलाई ठगी गरिरहेको जनाएकोे छ । चारवटै मुुलुकमा विना शुल्क कामदार पठाउने व्यवस्था विपरित नेपाली कामदारहरुबाट म्यानपावर कम्पनीहरुले ठूलो रकम असुलेको पाइएको सभापति साहले बताए ।
समितिले नेपाली महिला कामदारहरु खाडी मुलुकबाटै प्रतिबन्धित मुलुकहरु इरान, इराक, ओमान लगायतका मुलुकमा बेचिन गरेको पनि खुलासा गरेको छ । खाडी मुलुकमा रहेका नेपाली महिला कामदारहरु एक्जिट भिषाको अभावमा नेपाली दुतावासहरुमा शरण लिएर बस्न बाध्य भएको पनि समितिको स्थलगत भ्रमणका क्रममा पाइएको छ । उनीहरुमाथि शारिरीक शोषण समेत हुने गरेको पाइएको समितिको भनाई छ ।
खाडी मुलुकमा गएका कामदारहरुमाथि चर्को शोषण हुने गरेको पाइएपछि समितिले धेरै कामदार रहेका चारवटा खाडी मुलुकहरुको स्थलगत भ्रमण गरी त्यहाँको अवस्थाबारे अध्ययन गरेको हो । यसअघि समितिले खाडी मुलुकका नेपाली कामदारको अवस्था बुझि उनीहरुको समस्या समाधान गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।