चैत-३, आगामी स्थानीय तहको निर्वाचनले झण्डै ३५ हजार जनप्रतिनिधि चुन्ने भएको छ । जसमा ६ हजार ६ सय ८० दलितसहित १३ हजार ३ सय ६० महिला अनिवार्य हुनेछन् । साथै राजनीतिक दलहरुले नगर मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एकमा महिला उम्मेदवार बनाउनु पर्ने अनिवार्य व्यवस्था छ । यसले पनि स्थानीय तहको नेतृत्वमा महिला आउने सम्भावना प्रवल छ ।
आगामी वैशाख ३१ गते ७ सय ४४ स्थानीय तहमा निर्वाचन हुँदैछ, जुन लोकतन्त्रिक अभ्यास मात्र होइन, दलहरुलाई नेता-कार्यकर्ता व्यवस्थापन गर्ने अवसर पनि हो । कुल ७ सय ४४ स्थानीय तहमध्ये ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका छन् ।
स्थानीइ तहको निर्वाचन प्रणाली अनुसार नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सम्वन्धित स्थानीय तहका जनताको प्रत्यक्ष मतबाट चुनिनेछन् । यस आधारमा २६३ मेयर र त्यति नै संख्यामा उपमेयर चुनिनेछन् । यस्तै ४८१ गाउँपालिका अध्यक्ष र त्यति नै संख्यामा उपाध्यक्ष चयन हुनेछन् ।
राजनीतिक दलहरुले मेयर तथा उपमेयर र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मध्ये एकमा महिला उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था ऐन नै छ । यस्तै देशभरका स्थानीय तहमा ६ हजार ६८० वडा छन् । सबैमा वडाध्यक्ष चुनिनेछन् । वडा सदस्यमा दलित महिलासहित दुई महिला र दुई सदस्यका लागि चुनाव हुनेछ ।
यसअनुसार वैशाख ३१ को चुनावमा ६६८० वडाध्यक्ष चुनिनेछन् भने ६६८० दलित महिला र ६६८० र १३ हजार ३६० खुला गरी २६ हजार ७२० वडा सदस्य चुनिनेछन् । यसरी हेर्दा वडा स्तरमा ६६८० बडाध्यक्षसहित सहित ३३ हजार ४०० जनप्रतिनिधि चुनिनेछन् । मेयर उपमेयर ५२६ र गाउपालिका अध्यक्ष र उपाध्यक्ष ९६२ हुनेछन् । समग्रमा अबको स्थानीय तहको चुनावले ३४ हजार ८८८ जनप्रतिनिधि चुन्नेछ ।