चैत-२, काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेपाली कांग्रेसको उम्मेदवारको नाम सबैभन्दा अगाडि हुने भएको छ ।
त्यसपछि एमाले र माओवादी केन्द्र क्रमशः रहने छ । निर्वाचन आयोगले दोस्रो संविधानसभामा प्राप्त गरेको समानुपातिक मत संख्याका आधारमा क्रमशः दलको रोलक्रम तोकेको छ । यही रोलक्रम अनुसार मतपत्रमा दलको उम्मेदवार र चुनाव चिन्ह राखिने आयोगले जनाएको छ
दोस्रो संविधानसभामा भाग लिएका तर, फुटेका र पछि एकीकरण भएका दलको रोलक्रमका बारेमा भने आयोगले निर्णय लिएको छैन । निर्वाचन आयोगले बुधबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र नायब महान्यायाधिवक्ता किरण पौडेलसँग परामर्श लिएको छ । आयोगले संविधानसभापछि विभाजन भएका र एकीकरण भएर बनेका निर्वाचनमा भाग लिने दलहरुले प्राप्त गर्ने निर्वाचन चिहृन र दलहरुको मर्यादाक्रमका विषयमा छलफल परामर्श लिएका हुन् । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले संसदमा प्रतिनिधित्व गरेको दलका सांसदले नयाँ दल गठन गरे पनि आयोगमा दर्ता रहेको पुरानो दलले पनि निर्वाचन चिन्ह प्राप्त गर्ने र मतपत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मर्यादाक्रम कायम रहने सुझाव दिएका छन् । श्रेष्ठले राजनीति दल एकीकरण भएमा एकीकृत दलले मान्यता पाउने कानूनी व्यवस्था रहेको जानकारी आयोगलाई गराएका हुन् ।