चैत-१, कैलाली । होली मनाउने क्रममा मापसे र हुलदंगा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद र उपाध्यक्ष टंक कुँवरसहित ५६ जनालाई पक्राउ गरेको जनाएको छ ।
मापसे गरेर मोटरसाइकल चलाउँदा साइकल सवार एक महिलालाई ठक्कर दिएपछि पक्राउ परेका महासंघ कैलालीका उपाध्यक्ष कुँवरलाई ‘किन पक्राउ गरेको ?’ भनेर डिउटीमा रहेका प्रहरीलाई गाली गरेपछि प्रहरीले महासंघ कैलालीका अध्यक्ष जगत साउदलाई पनि प्रहरीले साेमबार नियन्त्रणमा लिएको हो । साउद र कुँवर भर्खरै निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन ।
नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरीले महासंघ कैलालीका निवर्तमान अध्यक्ष भरत शाहको जिम्मामा ‘बोलाएको बखत हाजिर हुने’ गरी छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विर बहादुर बुढामगरले जानकारी दिए ।
सुदूरपश्चिम प्रमुख डिआईजी रोमेन्द्रसिंह देउजाले महासंघका अध्यक्ष र उपाध्यक्षलाई नियन्त्रणमा लिई छाडिएको पुष्टि गर्दै व्यापक दबाव थेग्न नसकेको बताए ।
त्यस्तै मापसे र हुलगंदा गरेको आरोपमा मालाखेती इलाका प्रहरी कार्यालयले १० जना, टीकापुर इलाका प्रहरी कार्यालयले ५ जना, बौनियाले ६ जना, लम्कीले ५ जना र जिल्ला प्रहरी कार्यालय कैलालीले ३० जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बुढामगरले जानकारी दिए ।
जसमा दुईजना हतियारसहित फेला परेको प्रहरीले जानकारी दिएको छ । हतियारसहित पक्राउ परेका दुईजनाविरुद्ध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।