फागुन-२६, धनगढी— कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले घटनाको पुष्टि गर्दै एक जनाको मृत्यु भएको जानकारी दिए।
नेपाली भूभागमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लागेपछि उक्त भूभाग भारतीय पक्षको भन्दै एसएसबीले बुधबार नेपालीलाई कुटपिट गरेको थियो। गुगल म्याप देखाएर कल्भर्ट बनाएको क्षेत्र भारतीय रहेको भन्दै एसएसबीले बखेडा झिकेको थियो।
एसएसबीको ज्यादतीको विरोधमा बिहीबार बिहानदेखि नेपालीले उक्त क्षेत्रमा प्रदर्शन गरिरहेका थिए। प्रदर्शन दमन गर्न भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्दै गोली चलाउँदा गौतमको मृत्यु हुन पुगेको हो।