सप्तरी गोली काण्डपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठकले दुइ दिन मधेस बन्द गर्ने निर्णय गरेको छ । सोमबार मोर्चाको मुख्य घटक संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा भएको वैठकले आज मंगलबार र भोलि बुधबार मधेस बन्द गर्ने निर्णय गरेको हो ।
वैठकले प्रहरीको गोली लागि मारिएकाहरुको सञ्जन मेहता, दिगम्वर यादव, पिताम्वर लाल मण्डल र आनन्द साहलाई मानवअधिकार र अन्तराष्ट्रिय मानविय कानुनको समेत उल्लंघन गरेर गोली हानिएको ठहर गर्दै सरकारी हिंसात्मक कार्यको निन्दा गरेको छ । वैठकले घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस्तै मोर्चाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको समाचारहरु आए पनि विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छैन ।
उता सप्तरी प्रशासनले राजविराज आसपासका क्षेत्रमा मंगलबार दिउँसो एक बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। मधेसी मोर्चाको आन्दोलनने उग्ररुप लिन थाले पछि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।
मोर्चाका कार्यकर्ताहरु तोडफोड र आगजानी उत्रिएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले बताएका छन् ।