फागुन-२४, राजविराज । नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको समाचारलाई मंगलबारका सबै दैनिक पत्रपत्रिकाले फ्रन्टपेजमा छापेका छन् । कुनैकुनै पत्रिकाले भने तीन जना प्रदर्शनकारीको मृत्यु भएको उल्लेख गरेको छ । सप्तरीमा तनाव भएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको छ । त्यस्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको समाचारलाई पनि सबै दैनिक पत्रिकाले फ्रन्टपेजमा कभरेज गरेका छन् ।
एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।
एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ-ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।