27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

टेलिकमका सिम, रिचार्ज कार्डदेखि बिजुली शुल्क हुलाकी मार्फत, हुलाकको जिम्मेवारी थपियो

- Advertisement -
- Advertisement -spot_imgspot_img
फागुन-४, गाउँघरमा बिजुलीको बिल भुक्तानी गर्न असहज भएको भन्दै सरकारले भुक्तानी प्रक्रिया सहज बनाउने भएको छ। संचार मन्त्रालयले गाउँगाउँमा बिजुली, खानेपानीको बिल भुक्तानी हुलाकमार्फत गर्ने प्रस्ताव ल्याएको छ। एकातिर देशभर संजाल भएको हुलाक सेवा निष्क्रिय रहेको र अर्कोतिर जनताले दुःख पाइरहेको भन्दै हुलाकलाई सक्रिय बनाएर भुक्तानी प्रणालीलाई सहज बनाउनेगरी कार्यविधि बनाइएको संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए।
बिजुलीको बिल भुक्तानी गर्न सदरमुकाम नै पुग्नुपर्ने र बिलभन्दा आउन जान बढी खर्च लाग्ने गरेको भन्दै केही समय अगाडि मात्र संसदीय समितिहरुले सरकारलाई निर्देशन दिएका थिए। मन्त्रालयको यो कार्यविधि पास भएमा गाउँगाउँमा भएका हुलाकीहरुले बिजुली, खानेपानी तथा अन्य सरकारी सुविधावापतको शुल्क सम्वन्धित निकायलाई पठाउन सक्ने र त्यसको लागि केही शुल्क तिर्नुपर्ने छ।
‘बिजुलीको बिल तिर्न सेवा कार्यालयसम्म पुग्दा बिलभन्दा पनि बढी शुल्क लाग्छ तर हुलाकीहरुले त्यसमा लगाउँदा शुल्क बचत हुन्छ’ उनले सेतोपाटीसँग भने, ‘न्यूनतम शुल्कमा हुलाकीहरुले त्यो काम गर्छन्।’ देशभर संजाल भएर पनि केही काम नभएको जस्तोगरी थन्किएको हुलाकले पनि काम पाउने र जनताले पनि सुविधा पाउने भएकोले मन्त्रालयको कार्यविधि छिट्टै पारित हुने सचिव गुरुङको विश्वास छ।
हाल हुलाकका देशभर करिब ४ हजार कार्यालय तथा हजारौं संख्यामा कर्मचारीहरु रहेका छन्। तर पहिलेपहिले चिठीपत्र ओसारपसारमा सक्रिय ति कार्यालय र कर्मचारी आजभोलि फर्सदिला भएको भन्दै बेवास्तामा पर्ने गरेका छन्।
हुलाक सेवा विभागका सूचना अधिकारी बद्रिनाथ ज्ञवालीका अनुसार हुलाकको केन्द्रीय कार्यालय, त्यस माताहतका पाँचवटा केन्द्रीय निकाय, पाँचवटा क्षेत्रीय, ७० वटा जिल्ला आठ सय ४२ इलाका र ३ हजार ६४ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन्।
ति निकायहरुमा हुलाकी र हलकारा गरी ६ हजार ५ सयको दरबन्दी भएपनि हाल स्थायी र करार गरी दुई हजार पाँच सयमात्र कर्मचारी कार्यरत रहेको ज्ञवालीले जानकारी दिए। त्यस्तै अतिरिक्त हुलाक कार्यालयहरुमा १० हजार ८ सय ५८ जनाको दरबन्दी रहेको र त्यहाँ धेरै दरबन्दी खाली नभएको उनको भनाई छ।
सबैगरी १० हजारभन्दा बढी जनशक्ति भएको, देशव्यापी संजाल भएर पनि हुलाक कार्यालय लोकसेवा आयोगको तयारी गर्नेजस्तो मात्र देखिएको भन्दै आलोचना हुने गरेको छ।
सचिव गुरुङ भने अब हुलाकलाई जसरी पनि सक्रिय बनाइने र त्यसको लागि विभिन्न बिकल्पमध्ये पहिलो चरणमा बिजुली तथा खानेपानीको बिल भुक्तानीको व्यवस्था मिलाएर काम अगाडि बढाउने योजना सारिएको बताउँछन्।
यसका लागि सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको र सबैको सकारात्मक प्रतिक्रिया आएकोले यो कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त रहेको गुरुङको भनाई छ। हुलाकका अधिकारीहरु भने अहिलेकै अवस्थामा हुलाकलाई परिचालन गरेर सरकारी सेवाको बिल भुक्तानीजस्तै अन्य कार्यमा सहभागी गराउन कठिन भएपनि असम्भव नभएको बताउँछन्।
निष्क्रीयजस्तै रहेको हुलाकमा अहिले पनि अधिकांश हुलाकी तथा हलकाराहरु करारमा रहेको र तिनीहरुको व्यवस्थापन चुनौतिपुर्ण भएको, निर्धारित दरबन्दी पनि पुरा नभएकोले सहज नभएको भनाई छ हुलाक सेवा विभागका सूचना अधिकारी ज्ञवालीको।
टेलिकमका सिम र रिचार्ज कार्ड पनि हुलाकीमार्फत!
ग्रामीण क्षेत्रमा मोबाइलको टावर भएको, मोबाइल पनि भएको तर सिम र रिचार्ज कार्ड लिन भने सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको गुनासो आएपछि संचार मन्त्रालयले त्यसको लागि पनि हुलाकलाई परिचालन गर्ने योजना बनाएको छ।
गाउँघरमा सिम र रिचार्जको अभाव हुने गरेको र पाइए पनि महंगो पर्ने भएकोले हुलाकी मार्फत नेपाल टेलिकमका सिम  र रिचार्ज कार्ड बिक्रीवितरण गर्ने व्यवस्था मिलाइने संचार सचिव गुरुङले जानकारी दिए।
हुलाकीहरुले गाउँगाउँसम्म सिम र रिचार्ज पुर्याउने र त्यो सस्तो पनि हुने भएकोले यसको लागि गृहकार्य गर्न टेलिकमलाई पनि निर्देशन दिइएको सचिवको भनाई छ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!