27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

दाइजोमा लैनो भैंसी दिन नसक्दा सिन्दुर पुछियो..मधेशमा दाइजो प्रथाको दर्दनाक स्थिति अझै कायम

- Advertisement -
- Advertisement -spot_imgspot_img

महोत्तरी : बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे। छोरीको लागि ज्वाई पनि खोजे। अमृताका बाबु रामप्रकाशले धनुषा कान्छी बजार-९ का रौदी कापरलाई घरदेखी गरे। छोरी अनुसारको ज्वाई पनि उनले भेटाए। उनलाई ज्वाई मन पर्‍यो। विवाहमा दाइजोको कुरो उठ्यो ।

केटाको बुबाले ५ लाख नगद दिए मात्र विवाह गर्ने शर्त राखे। ‘म गरिब छु। ५ लाख दिन सक्दिन’ अमृताका बाबु रामप्रकाशले हुनेवाला सम्धी (केटाका बाबु) सँग भने। रामप्रकाशले आफ्ना सबै दुःख पीडा केटाका बाबु दुःखी कापरसँग पोखे। अनुनय विनय गर्दा बल्तल्ल केटा पक्ष १२५ सिसि होन्डासाइन मोटरसाइकल र नगद गरेर ३ लाख ५० हजारमा राजी भयो ।

माघ ९ गते विवाह गर्ने दिन तय गरियो। लाखौंको दाइजो जोहो गर्ने चिन्ताले गरिबीसँग लडिरहेका रामप्रकाशलाई सताउन थाल्यो। विवाह खर्च जुटाउन र केटा पक्षलाई तय गरिएको दाइजो रकम जोरजाम गर्न उनले ऋण खोज्न थाले ।

विवाहको तयारीमा जुटेका रामप्रकाशसँग विवाहको अन्तिम समयमा आएर केटा पक्षले फेरी दोस्रो शर्त तेस्र्यायो। मोटरसाइक र नगद विवाह भन्दा अगाडि चुक्ता नगरे बरात (जन्ती) नल्याउने ।

यो सर्तले रामप्रकाश झनै तनाब परे। उनले केटा पक्षलाई दाइजोको रकम दिन आमा कुमरदेवी कापरको नाममा रहेको तीन कट्टा जग्गा बिक्री गर्न ग्राहक खोज्न थाले। तर जग्गाको चलनचलती मूल्यमा भन्नेवित्तिकै जग्गा किन्ने मान्छे उनले पाएनन्।

प्रति कट्टा २ लाख ५० हजारमा बिक्री हुने जग्गा उनी बाध्य भएर प्रति कट्टा १ लाख ५० हजारको दरले ४ लाख ५० हजारमा बेचे। बर्दीबासमा केटा पक्षलाई बोलाएर माघ ७ मा ना ४१ प ९१९३ नम्बरको होन्डा साइन मोटरसाइकल १ लाख ९० हजारमा किनिदिए। सोही दिन १ लाख ६० हजार नगद पनि दिएर केटा पक्षले मागेको सबै दाइजो पुरा गरिदियो ।

रामप्रकाशका ज्वाइले उनीसँग २ हजार मिटरको कोटको कपडा, १३ सय मिटरको सर्ट पेन्टको लुगा, २२ सयवला जुत्ता किन्न माग राखे। अमृताका बाबुले त्यो पनि किनी दिए। केटा पक्षका सबै परिवारका लागि कपडा केटी पक्षले किन्नु पर्ने माग अगाडि सारे ।

रामप्रकाशले ऋण काढेर केटाको सबै परिवारलाई ५६ हजार खर्च गरी लुगाफाटो खरिद गरी जिम्मा लगाए ।

विवाहको लागि दाइजो रकम, जन्तलाई खुवाउने खाजाखाना, मण्डप (मरवा), सरसजावाटलगायत विवाह कार्यका लागि उनले झन्डै ७ लाख ५० हजार खर्च गरे ।
डिजे बजाएर केटा पक्षले रामप्रकाशको घरमा जन्ती ल्याई धुमधामसँग तोकिएको मितिमा विवाह भयो।

विवाहमा ५ लाख माग राख्ने केटा पक्षले भने आधा तोला सुन र ३० तोला चाँदी बेहुलीका लागि ल्याएका थियो। केटीको बाबुसँग महँगो लुगा खरिद गर्न लगाए पनि केटा पक्षले केटीको लागि पनि नयाँ लुगा ल्याएको थिएन। पुरानै लुगा लगाएर अमृताको विवाह भएको थियो ।

विवाहको भोलि पल्ट माघ १० मा घरवैया (केटी पक्ष) ले विवाहमा आएका बेहुलासहितका जन्तीलाई भोज खानका लागि गाउँका एकजनाले माइकमा मैथिली भाषमा ‘विजो भगेल, बराती लौकेन अपनेसब ज कतौं छि त खाना खाइके लेल आइब जाउ (खाना खाने समय भयो। जन्त आउनु भएका तपाईहरू कता हुनुहुन्छ। छिटो खाना खान आउनुस्’ भनेर भने। दुलहा (बेहुला) सहितका सबै बराती (जन्ती) खान खान आए ।

मधेसमा बेहुला, उनका बाबु, मामा, काकालगायत पाँचजना मण्डप (मरबा) मा बसेर खाने चलन छ। बेलुलासहित पाँचजना त्यसै अनुरुप मरबामा बसे। बासना आउने बासमती चामलको भात, लहरी (रहर) को दाल, तरकारी, पापड, तिलौरी, तिलको अचारसहितका मिष्ठान्न भोजनमा विशेष स्वादका लागि दालमा घ्यू हालेर खान पस्कियो ।

खान खाने समयमा मरवामा दुलहा (बेहुला) ठुस्स पर्ने मधेसमा परम्परै छ। बेहुलाले नखाए जन्तीले खानै खाँदैनन्। बेलुलालाई फकाउन अमृताका बाबु रामप्रकाश गए। ‘ज्वाई किन रिसाउनु भाको खान खानुन्’ नम्र हुँदै उनले रौदीलाई अनुरोध गरे। उनको ज्वाई रौदिको जवाफ दिए, ‘दाइजोमा लैंनो भैंसी दिए मात्र भात खाने। नभए नखाने।’

‘अहिले नै भैंसी दिन सक्दिन। अहिले मसँग रुपैयाँ छैन। लैंनो भैसी तपाईलाई दिन ज्यानै बेच्नु पर्छ। एक वर्षपछि भैंसी किनेर दिउँला। सकेको मैले हजुरलाई ठक्रयाँए’, ज्वाइलाई भन्दा ज्वाइले रिसाउँदै गाउँले सामु ससुरालाई गाली गर्दै भने, ‘दुहुना भैंसी नदिएसम्म भात पनि खान्न। तेरो छोरी पनि लान्न’, खाना खाने ठाउँबाट फन्किदैं ५ सय मिटर पर पुगे।

बेहुला रिसाएर मण्डपबाट निस्केपछि पस्केको खाना छाडेर झन्डै सयको संख्यामा आएका जन्ती बेहुलाको पछि लागे। पस्किएको खान छाडेर जन्ती उठेर गएपछि भैंसी बेहुलीको नातामा काका पर्ने गणेशी महतोसहितका गाउँले बेहुला फकाउन गए ।

लैंनो भैंसी नपाएको निहुँमा खाना खाने ठाउँबाट उठेर हिँडेका बेहुलालाई गणेशीले खाना खान अनुरोध गर्दा उल्टै बेहुलाले नाकमा दुई मुक्का हिर्काए। गणेशीको नाकबाट तरतर रगत बग्न थाल्यो।

गणेशीसँगै गएका हिराई कापरले ससुरा नाता पर्नेलाई किन कुटेको भन्दा बेहुला, उनका दाजु श्याम र रामकुमारले आक्रमण गरी हिराइलाई पनि घाइते बनाए। अवस्था तनाव ग्रस्त भएपछि अमृतका बाबु रामप्रकाशले किसानगर प्रहरी चौकीमा खवर गरे। खवत लगत्तै घटना स्थलमा आइपुगेको प्रहरीले गाउँले र जन्ती पक्षबीच विवाद बढ्ने अवस्था देखेपछि बेहुला, उनका दुई दाजु र बाबु दुःखी कापरलाई पक्राउ गरी चौकी पुर्‍यायो। उनीहरूलाई एक रात प्रहरीको हिरासतमा बसे। बेहुला बेहुली बिना जन्ती घर फर्कियो। माघ ११ गते घटना गाउँलले मिलाउने गरी प्रहरीले गाउँलेलाई जिम्मा लगाए ।

गाउँलेले केटाले केटी नलगेमा दाइजो फिर्ता गर्नुपर्ने निर्णय गरे। गाउँलेले अमृतालाई सोधेका थिए, ‘केटाको घर जाने की नजाने ? ’

अमृताले सबैका सामू रुँदै भनिन्, ‘मरो माइती घरका सबैलाई भैंसी नपाएर कुटपिट गर्नेले उसको घरमा मलाई जे पनि गर्न सक्छ। उसले भैंसीसँग विवाह गर्न लागेको हो ? म उसको घर जन्न ।’ अमृतालेको जवाफपछि गाउँलले दाइजोमा दिएको मोटरसाइकल र नगद फिर्ता गरायो । दाइजो फिर्ता गरी केटा पक्ष घर फर्कियो। बाबुले दाइजोमा लैंनो भैंसी दिन नसक्दा सिन्दुर हालेको दुई दिन नवित्दै अमृताको सिँउदोको सिन्दुर, गलाको पोते र हातको चुराले सजिएको उनको खुशी खोसियो ।

रामप्रकाशले छोरी अमृताले दुर्गा मावि पथलैंया पशुपतिनगरबाट कक्षा ९ पास गरेपछि पढाई छाडेकी थिइन्। ‘सहयोग पाए पढ्ने मन छ। समाजको कुसंस्कारविरुद्ध काम गर्ने इच्छा छ। मैले र मेरो परिवारले दाइजो दिन नसकेपछि पीडा भाग्यौं। अब यस्तो कसैले भोग्नु नपरोस्। त्यसका लागि काम गर्ने मन छ’, अमृताले भनिन्, ‘पढेर आफ्नो खुट्टामा उभिन्छु। दाइजो नलिने केटासँग विहे गर्छु ।’

अमृताका बाबु सुगरका बिरामी छन्। अमृतकी आमा पारोदेवी कापरलाई गेठीया रोग लागेको छ। उनको उपचार गराउँदा लिएको १ लाख ८० हजार ऋण साहुलाई तिर्न बाँकी छ। अमृताका बाबुले दिनहुँ औषधिमा १ सय रुपैयाँ खर्चनु पर्छ ।

रामप्रकाशको १४ जनाको परिवार छ। खेत जग्गा अब १३ कठ्ठा मात्रै छ। अकाशे पानीको भरमा धान खेती गर्ने यो परिवारले पानी नपरेको वर्ष खेतमा धान फल्दैन ।‘हामीसँग न खेत रह्यो, न छोरीको विवाह नै भयो। उल्टै ज्वाई भनाउँदोबाट कुटाई खानु पर्‍यो। इज्जत पनि गयो। दाइजोले ४ लाख ऋणको भारी पनि बोकायो’, रामप्रकाशले भक्कानिदैं भने, ‘अब छोरीको फेरी अर्को विवाह कसरी गर्ने ?’

मधेमा यस्ता घटना दिनहुँ घट्छन्। दाइजो नदिए छोरीको विवाह हुन्न। पढेलेखेका परिवारले पनि दाइजो प्रथाबाट मुक्ति पाउन सकेका छैन। दाइजो नदिएको झौंकमा केटा पक्षले विवाह अघि र पछि शारीरिक, मानसिक यातना दिए चेलीबेटीको ज्यान लिनेसम्मका घटना मधेसका लागि समान्य जस्तै बनेको छ ।

गरिब मुक्तिका लागि १० वर्से जनयुद्वमा होमिएका रामप्रकाशले त्यस क्रममा उनले सेनाको गोली पनि खाए। समाज परिवर्तनका लागि बन्दुक बोकर हिँडेका उनी गणतन्त्र स्थापनापछि पनि मधेसका समस्या पनि जस्ताको त्यस्तै देख्दा चिन्तित छन् । सामाजिक व्यवहार सुधार ऐन २०३३ ले व्यवस्था गरेर अनुसार दाइजो लिने र दिनेलाई व्यवस्था गरेको दण्ड समान्य र कमजोर रहेको अधिवक्ता विष्णु कार्कीले बताए ।

‘विवाहमा दाइजो लिनु र दिनु गैरकानुनी हो। दाइजो लिने र दिने दुवै पक्षले स्वीकार गर्नु हुँदैन। दाइजोका विषयमा हालसम्म ठोस कानुन बनेको छैन’ उनले भने ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!