27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

राष्ट्रीय झंडा गाडेर होमियो अनेरास्ववियु स्ववियु चुनाव प्रचारमा, नेबिसंघमा भने उमेर हदले किचलो

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं- एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गरेको छ। अनेरास्ववियुका विद्यार्थीले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस प्रांगणमा राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार सुरु गरेका हुन्। एमाले पार्टी केन्द्रीय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख सुदर्शन शिवाकोटी नेतृत्वमा विद्यार्थीले सरस्वती पूजा गरी राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार थालेका थिए।

‘सरस्वती पूजा गरी माताको आशीर्वाद लिएर हामी चुनावी तयारीमा जुट्यौं,’ राष्ट्रिय झन्डा गाड्दै अनेरास्ववियु क्याम्पस कमिटी सदस्य निरज रोकायाले भने, ‘कलेजमा राष्ट्रिय झन्डा फहराएर सकारात्मक वातावरणमा चुनावको तयारी गर्दा सद्भाव कायम रहने विश्वास छ।’

विभिन्न दल निकट विद्यार्थी संगठन बुधबारदेखि चुनाव प्रचारमा जुटेका हुन् । त्रिभुवन विश्वविद्यालयका आंगिक एवम् सम्बन्धन प्राप्त कलेजमा आगामी फागुन १४ गते स्ववियु चुनाव हुनेछ।

त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनाव धाँधलीरहित बनाउन माघ १३ गते  आचारसंहिता जारी गरेको थियो।  आचारसंहिताअनुसार चुनाव प्रचार गर्दा भित्तेलेखन, ब्यानर, पर्चा, नारा, माइक, संगठन वा पार्टी झन्डा प्रयोग गर्न पाइँदैन।

प्रत्येक क्याम्पस निर्वाचन समितिले सबै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्नुपर्ने अचारसंहितामा उल्लेख छ।

सोही कलेजका अनेरास्ववियुका नेता कपिल सोडारीले आचारसंहिताभित्रै रहेर चुनाव जित्ने रणनीतितर्फ संगठन केन्द्रित भएको बताए।

अनेरास्ववियु प्रचार विभाग प्रमुख सुदीप शर्माले चुनाव आचारसंहिताले पर्चा, ब्यानर, झन्डालगायतका प्रचार सामग्रीमा रोक लगाएकाले देशभरिका कलेजमा राष्ट्रिय झन्डा फहराएर चुनाव प्रचार गर्ने निर्णय भएको जानकारी दिए।

उनले बुधबार देशका ८० क्याम्पसमा झन्डा फहराएको र माघ २१ गतेभित्र चुनाव हुने सबै कलेजमा संगठनले राष्ट्रिय झन्डा फहराइसक्ने दाबी गरे। ‘हामी जसरी पनि स्ववियु चुनाव गराउने पक्षमा छौं,’ शर्माले भने, ‘संगठनभन्दा ठूल्ाो राष्ट्र भएकाले हामीले राष्ट्रिय झन्डालाई प्रचारमा प्रयोग गरेका हौं।’ सबै विद्यार्थी संगठनलाई राष्ट्रिय झन्डामुनि ऐक्यबद्ध हुन उनले अनुरोध गरे।

यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अपिल र घोषणापत्रलाई माध्यम बनाएको छ। संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेले संगठन प्रचारको तामझाम नअपनाई विद्यार्थीमाझमै पुग्नेे बताए।

‘हामी कलेजको कक्षाकोठादेखि विद्यार्थीको दैलोसम्म पुगेर अपिल र घोषणापत्र उपलब्ध गराउँछौं,’ न्यौपानेले भने, ‘फागुन १ गते हामी उम्मेदवार घोषणा गर्नेछौं।’ उनले पनि संगठन अचारसंहिताभित्रै रहेर चुनावमा जुटको बताए।

उता नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेरहद तोकिएको विषयमा विवाद चर्केको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले स्ववियु निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार जुट्न संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिए पनि असन्तुष्ट विद्यार्थी नेताहरूले २८ वर्षे उमेरहद स्वीकारेर निर्वाचनमा जान नसकिने अडान दोहोर्‍याएका छन्।

विवाद चर्केपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार बिहान पार्टी पदाधिकारीले संघका केन्द्रीय पदाधिकारी, उपत्यका जिल्ला र क्याम्पस इकाइ सभापतिासँग छलफल गरे। छलफलमा पार्टी सभापति देउवाले स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै तयारीमा जुट्न विद्यार्थी नेताहरूलाई निर्देशन दिएका थिए। २८ वर्षे उमेरहदका कारण स्ववियु निर्वाचनमा उम्मेदवार बन्न वञ्चित हुने विद्यार्थी नेतालाई पार्टीका भ्रातृ संगठन र विभागमा उचित स्थान दिइने आश्वासन देउवाले दिएका छन्।

‘पार्टी सभापतिले निर्वाचनमा जानुको विकल्प छैन भन्दै वर्तमान कानुनअनुसार अघि बढ्न निर्देशन दिनुभएको छ,’ संघका अध्यक्ष नैनसिंह महरले भने, ‘२८ वर्षे उमेरहदका कारण स्ववियु निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित हुनेलाई पार्टीमा उचित अवसर दिने आवश्वासन उहाँले दिनुभएको छ।’

पार्टी निर्देशन अनुसार संघ निर्वाचन तयारीमा जुटेको बताउँदै महरले केन्द्रीय कार्यालयमा असन्तुष्ट विद्यार्थीले लगाएको ताला खुलिसकेको जानकारी दिँदै क्याम्पसहरूमा लागेका ताला पनि विस्तारै खुल्दै जाने दाबी गरे। ‘स्ववियु निर्वाचनमा संघलाई पहिलो संगठन बनाउने गरी आजैबाट निर्वाचन तयारीमा जुटेका छौं,’ उनले भने, ‘हामी संगठन बढाउन निर्वाचनमा एकजुट भएर लाग्नेछौं।’

तर, असन्तुष्ट विद्यार्थी नेताले लोकतान्त्रिक पार्टीभित्र निरंकुशता लाद्ने काम भएको आरोप लगाउँदै २८ वर्षे उमेरहद स्वीकार गर्न नसक्ने अडान दोहोर्‍याएका छन्। असन्तुष्ट पक्षले पार्टी भ्रातृ संगठनमा पनि उम्मेदवार हुन वञ्चित गराइएको र स्ववियु निर्वाचनमा पनि रोक्ने काम भएको गुनासो गरेका छन्। पार्टी र संघले आफ्नो एजेन्डालाई साथ नदिए संगठनको जिम्मेवारी छाड्ने तर मुद्दाबाट पछि नहट्ने अडान उनीहरूले दोहोर्‍याए।

‘हामी आफूले सम्हाल्दै आएको जिम्मेवारी बरु छाड्न तयार छौं तर उमेरहद खारेज गर्नुपर्छ भन्ने मुद्दाबाट पछि हट्दैनौं,’ संघका काठमाडौं जिल्ला अध्यक्ष सुरज वैद्यले भने, ‘१० वर्षसम्म निर्वाचन नगराउने, अहिले हुने भनिएको निर्वाचनमा पनि लामो समय संगठनमा सक्रिय साथीहरूलाई त्यसै जिम्मेवारीमुक्त गराउने कुरा मान्य छैन।’

अहिलेको व्यवस्था अनुसार निर्वाचनमा जाने कुनै सहमति नभएको जनाउँदै उनले भने, ‘पार्टी सभापतिले चुनावमा जान भन्नुभयो, हामीले आफ्नो कुरा राखेर बाहिरिएका हौं, कुनै सहमति भएको छैन।’ नेवि संघको असन्तुष्ट पक्षले अर्को पटकदेखि मात्र उमेरहद लगाउनुपर्ने माग गर्दै आएको छ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!