माघ-१०, अब विश्वको चर्चित सांगीतिक रियालिटी शो ‘आइडल’ ओपचारिक रूपमा नेपाल भित्रिने भएको छ। विश्वका ५४ मुलुकमा सम्बन्धित देशको आ-आफ्नै नाममा संचालन भइरहेको कार्यक्रम नेपालमा ‘नेपाल आइडल’को नामले संचालन हुने भएको हो । यस कार्यक्रमका बारेमा आइतबार एक कार्यक्रम गर्दै अन्नपूर्ण मिडिया नेटवर्क प्रालिले यसको जानकारी दिएको छ । कार्यक्रम एपि वान १ टिभीबाट प्रसारण हुनेछ। कार्यक्रमलाई ‘आइडल’को फ्रान्चाइज नियम तथा मापदण्ड अनुसार हुँने दाबी गरिएको छ। सो अनुसार नभए फ्रान्चाइज जतिबेला पनि स्थगीत हुने भएकाले त्यसमा कुने सम्झौता नगरिने कार्यक्रममा स्पष्ट पारियो।
नेपालमा भने अनुसारको स्टुडियो नभएकाले आयोजकले काठमाडौंको बुद्धनगरमा ‘आइडल’को मापदण्ड अनुसारको स्टुडियो निर्माण भइरहेको जानकारी पनि कार्यक्रममा दियो। नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘नेपाल आइडल’ का विजेताले महिन्द्रा केयुभी वान ओ कार सहित २० लाख रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार प्राप्त गर्नेछन् ।
कार्यक्रम निर्देशक लक्ष्मण पौड्यालले नेपालगञ्ज, बुटवल, नारायणगढ, वीरगञ्ज, विराटनगर, पोखरा र काठमाण्डौंमा अडिसन लिइने बताए। अडिसनमा १६ देखि ३० वर्षसम्मका प्रतियोगीले सहभागिता जनाउन पाउनेछन्। ‘नेपाल आइडल’ मा न्यूहूँ बज्राचार्य, ईन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा मुख्य निर्णायकको रुपमा रहेका छन्। ‘नेपाल आइडल’ को पहिलो श्रृङ्खला ३२ भागसम्म प्रशारण हुनेछ । पहिलो पछि अन्य संस्करण पनि आउने कार्यक्रम निर्देशक पौड्यालले बताएका छन्।