माघ-५, पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले पाठेघरको मुखको क्यान्सरको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको बिशेषज्ञहरुको भनाइ छ ।
गाउँ वा सहरका अधिकांश महिला सिकिस्त नभएसम्म अस्पताल नपुग्ने भएकाले अन्तिम चरणमा पाठेघरको मुखको क्यान्सरको उपचार खर्चिलो बन्नुका साथै ज्यान बचाउनै गाह्रो हुने बिशेषज्ञहरु बताउछन् । बि पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत बर्ष आउने बिरामी मध्ये १५ देखि २० प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी आएको तथांक छ ।
कलिलो उमेरमै विवाह गर्नु , धेरै जनासँग यौन सम्पर्क राख्नु, धूमपान गर्नु, पाठेघरको मुख पापिलोमा भाइरसको संक्रमण हुनु यस रोगका मुख्य कारण हो । नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले पीडित महिलाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो निकै डरलाग्दो कुरा हो । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको सङ्ख्या बढ्दो क्रममा छ ।
ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ दश वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । धेरै गर्भाधारण गरेमा, धूमपान गरेमा, पाठेघरको मुखको क्यान्सरको खतरा बढ्ने हुँदा यस प्रति सचेत हुन् चिकित्सकहरुले सुझाब दिएका छन् ।
लामो समयसम्म ५ वर्षभन्दा बढी हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीच(बीचमा साधन परिवर्तन गर्नुपर्छ । यदि यौनसम्पर्क गर्दा रगत देखिएमा, महिनावारी नभए पनि रगत देखिएमा, योनीबाट सेतो गन्हाउने पानी आउने, सानो पेट दुखिरहने, ढाड दुख्ने, थकाइ बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने, स्वर परिवर्तन हुने, दिसा वा पिसाबको तालिका फरक हुने, तौल घट्दै जाने जस्ता लक्षण देखिएपछि पाठेघरको मुखको क्यान्सर भएको हुनसक्ने भएकाले यदि यीमध्ये कुनैपनि लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ ।