काठमाडौ, पुस-२८ । राहत, उद्धार तथा पुनस्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ। रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलब भत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको फेला परेको हो। कागजातअनुसार विभिन्न दाताले पुनस्थापना गतिविधि सञ्चालनका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारी र कर्मचारीको तलबभत्ता, विदेश भ्रमण, सुविधाजनक कार्यालय र कार, मोटरसाइकल, स्कुटर, कम्प्युटर, ल्यापटप, पेन ड्राइभ आदि खरिदमै खर्चेर सिध्याएको छ। स्टेयरिङ कमिटीको बैठक भत्ता तथा कर्मचारीको तलबमा ६ करोड २३ लाख ४२ हजार ५ सय ८९ रूपैयाँ खर्च भइसकेको छ। स्रोतका अनुसार रेडक्रसले योभन्दा बढी रकम बैठक र अन्य सामग्री खरिदमा खर्च गरिसकेको छ।
मानवीय सहयोगका निम्ति कहलिएको यो संस्थाले इमर्जेन्सी रेस्पोन्स अपरेसन एकाइमा कार्यरत पदाधिकारी र कर्मचारीलाई कुनै निश्चित मापदण्डबेगर सेवा र सुविधा दिँदै आएको छ। सबैभन्दा बढी भूकम्पप्रभावित १४ जिल्लामा रेडक्रसको यो एकाइ सञ्चालित छ।रेडक्रस अध्यक्ष सञ्जीव थापाले तलबका रूपमा एक लाख २५ हजार रूपैयाँ पाउँदै आएका छन् भने महासचिव देवरत्न धाख्वाले प्रतिमहिना ९८ हजार ३ सय ४९ रुपैयाँ तलब बुझ्छन्। यसका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले ६३ हजार २ सय ४९ रुपैयाँ पाउने गरेका छन्। अध्यक्ष थापाको नेतृत्वमा पुनर्निर्माण गतिविधि हेर्न बनाइएको अधिकारसम्पन्न समितिका सदस्य भक्त खवासले प्रतिमहिना ४० हजार रूपैयाँ पाउँदै आएका छन्। तर, उनी केही महिनादेखि क्यानाडामा बसिरहेका भए पनि यो सुविधा पाइरहेको रेडक्रसको एक स्रोत जानकारी दियो।