पुस-२७, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद दिएका छन्। प्रधानमन्त्री दाहालले पृथ्वीजयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी व्यक्त गरेका हुन्। २ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रित राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरे। उनले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन नसकेको पनि स्पष्ट पारे। प्रधानमन्त्री दाहालले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनसरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ। प्रधानमन्त्री दाहालले मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाति, वर्ग र समुदायलाई समेटेर सार्वजनिक बिदा दिने मापदण्डसहितको प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको पनि जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रलाई एकताबद्ध बनाएर लैजान पनि सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको छ। कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता थियो। पृथ्वी नारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ।