पुस २३, मान्छेको मेमोरी पावरभन्दा पनि अहिले स्मार्टफोन र त्यसको मेमोरी कार्डको बढी चर्चा हुने गर्छ । सूचना प्रविधिको विकाससँगै मान्छेको मेमोरी पावरलाई स्मार्टफोनको मेमोरी कार्डले विस्थापित गर्दै आइरहेको हो कि भन्ने प्रतीत हुन्छ । के मान्छेले अब सम्झनै नपर्ने भएको हो त ? डिजिटल युगमा नेपालका युवा अपर्ण शर्मा यस्ता दुर्लभ मानिस हुन्, जसको मोबाइलमा मेमोरी कार्ड छैन । ‘मलाई आफ्नै ब्रेनको मेमोरी काफी हुन्छ,’ उनी प्रस्ट पार्छन् । उमेरले २६ वर्ष । एमबीएस अध्ययनरत । झापा भद्रपुर ८ का हुन् शर्मा । मेची अस्पतालको अघिल्तिर बस्छन् । दुई वर्षदेखि कलेज, स्कुल र अन्य स्थानमा ‘मेमोरी पावर’ सेमिनार गर्दै आइरहेका छन् । शर्माले आफ्नो मेमोरी पावर अब्बल रहेको देखाएका छन् । ह्वाइट बोर्डमा ३० थरी शब्द लेखे । एक पटक गीत गाउँदै सबै हेरे । त्यसपछि उनले बोर्डतिर मुन्टो नबटारिकन अघि, पछि र बीच–बीचमा कुन नम्बरमा के छ भनेर खुरुखुरु भनिदिए । उनको मेमोरीको टेस्टले आम मान्छेको मात्र मन जितेको छैन । उनले यही क्षमता र सीपका कारण गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत नाम लेखाइसकेका छन् । उनले एक मिनेटमा ४२ वटा वस्तुलाई मात्रै एक पटक हेरेको आधारमा रोलक्रमअनुसार स्मरण गर्दै यो कीर्तिमान राखेका हुन् । ‘एक्स पीएम (केपी ओली) ले पुस १ मा उताबाट पठाएको प्रमाणपत्र दिएका हुन्,’ २०१५ को सेप्टेम्बरमा गिनिज बुक अफ वल्र्ड रेकर्डले स्वीकृत गरेको प्रमाणपत्रलाई देखाउँदै शर्माले भने । सुरुआतमा उनी गीत, भजन गाउँथे । २०७० को कुरा हो । मेची बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा पढ्दै गर्दा साथीहरूबीच प्रतिस्पर्धा चल्यो, कसले बढी शब्द सम्झने । उनले एक मिनेटमा भर्खरै पढेका ३० शब्द भनिदिए । त्यसपछि साथीहरूले सुझाव दिए, ‘यो त धेरै अचम्मको कुरा हो, अब तिमी विश्व कीर्तिमान बनाउनतिर लाग ।’ उनले साथीहरूको सल्लाह माने र नयाँ गन्तव्यतिर लागे । योगा सिके, ध्यान गर्न थाले, खानामा अनुशासन कायम गरे । उनको चिया र सुपारीको अम्मलसमेत छैन । ‘सुरुआती दिनमा त मैले बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म योगा गरे । साथमा राति ३ घण्टा ध्यान पनि गरे,’ आफ्नो ब्रेन पावर बढ्नुका कारणबारे उनले खुलासा गरे, ‘अहिलेचाहिँ दिनको दुई घण्टा मात्र योगा गर्दै आइरहेको छु ।’ शर्माको यो अभूतपूर्व क्षमताको रहस्य हो, शब्दलाई ब्रेनमा चित्रका रूपमा लिने सीप । उनी आफ्नो ब्रेनको चित्रलाई बाहिरभन्दा फेरि शब्दकै रूपमा प्रस्तुत गरिदिन्छन् । ‘फिल्म हेरे जस्तै हो, यसलाई फास्ट र रि सबै गर्न मिल्छ,’ उनले सुनाए, ‘म हावामा फोल्डर बनाउँछु र त्यहीं नै डिलिट गरिदिन्छु ।’ शर्माले स्कुल र कलेजमा हुने सेमिनारहरूमा बच्चा र युवाहरूलाई क्यालेन्डर, शब्द, वाक्य, अनुच्छेद, तथ्यांक, इतिहास, फोन नम्बर कसरी सम्झने भन्ने ट्रनिङ दिँदै आइरहेका छन् । उनी मेमोरी पावर बढाउन योगा गर्नुपर्ने, कागती र मनतातो पानीसँगै बिहानीको सुरुआत गर्नुपर्ने, ओखर, बदाम जस्ता खानेकुरा भिजाएर खानु उचित रहेको सुझाव दिन्छन् । उनी गीत सुन्छन् । फिल्म, सिरियल हेर्छन् । ‘फिल्म र सिरियलमा भने मलाई सुपर पावरवाला मन पर्छ,’ उनले भने ।