युवा संघ रुपेन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या आफ्नो समुहले गरेको भन्दै फरार अभियु्क्त मनोज पुनले जिम्मेवारी लिएका छन् । हत्या भएको भोलिपल्ट उनले विभिन्न सञ्चारमाध्यमलाई टेलिफोन गरी तिवारीको हत्या आफ्नो समुहले गरेको बताए । दुर्गाको हत्या मेरा केटाहरुले गरेका हुन्, उसले ठेक्का पट्टादेखि हाम्रा साथीहरुलाई फसाउन काम गरेको थियो, संचारमाध्यमहरुलाई जानकारी गराउँदै पुनले भने उसँग हाम्रो पुरानो रिसीवी थियो । युवा संघका अध्यक्ष तिवारीको इटा भट्टा पनि छ । ६ महिना अघि सोही इटा भट्टामा तिवारीमाथी गोली प्रहार गरिएको थियो । तर त्यो बेला उनी जोगिएका थिए । गोली काण्ड भएदेखि फरार रहेका मनोज हाल भारतमा लुकेर बसेको हुनसक्ने आशंका प्रहरीले गरेपनि उनले भने आफु मलेसियामा भएको संचारमाध्यमलाई बताएका छन् । ब्यक्तिगत लेनदेनका कारण आफुले तिवारीको हत्या गरेको पुनले बताएपनि युवा संघ र नेकपा एमालेले भने राजनीतिकरुपमा हत्या गरिएको दावी गरेको छ । एमाले महासचिव इश्वर पोखरेलले प्रधानमन्त्री र गृहमन्त्रीको उत्तेजित निर्देशनका कारण आफ्नो पार्टीका कार्यकर्ताको हत्या भएको बताए । उनले सोमवार नै बिज्ञप्ती निकाली प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्यामा तानेका हुन् । तिवारी हत्याको जिम्मेवारी लिने कोसिस गरेका पुनमाथी तीन अपराधका घटना भएको प्रहरीले बताएको छ । ६ महिनादेखि फरार रहेका पुनको निर्देशनमा तिवारीमाथी गोली प्रहार भएको आशंका गरेपनि प्रहरीले ठोस प्रमाण पाउन सकेको छैन । केही बर्ष पहिले तत्कालिन एमाले युवा संगठन युथ फोर्सका अध्यक्ष प्रचण्ड थैवको पनि हत्या गरिएको थियो ।