बुटवल, पुस-२, प्रदेश नम्बर पाँचका पहाड र तराईका जिल्ला अलग गर्ने गरी सरकारले ल्याएको संविधान संसोधन विधेयकको विरोधमा आह्वान गरिएको हड्तालको दोश्रो दिन शनिबार पनि नवलपरासी देखि पश्चिमका ११ जिल्लाको यातायात र बजार बन्द छ। संयुक्त संघर्ष समितिले आह्वान गरेको ३ दिने हडतालका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासीको परासी क्षेत्र , पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, रुकुम, बाँकेमा यातायात र बजार सञ्चालनमा आउन सकेका छैनन् । पूर्वपश्चिम राजमार्गको चितवन र बाँकेमा शुक्रबार बिहानदेखि रोकिएका गाडी गएराती १० बजेपछि प्रहरीको स्कर्टिङमा गन्तव्यतर्फ लागेका छन्। बन्दकर्ताले रातीमा गाडी चल्न नदिने बताए पनि १० बजेपछि प्रहरीले बन्द भएको क्षेत्रमा स्कर्टिङ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रदेश नम्बर पाँचका जिल्लाहरुमा पाँच नम्बर टुक्र्याउने गरी सरकारले ल्याएको विधेयकको विरोधमा १८ दिनदेखि आन्दोलन भइरहेको छ। यसै बिच नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले स्वाथ्यकर्मीहरुलाई निर्वाध रुपमा आफ्नो कार्यक्षेत्रमा जाने वातावरण मिलाई दिन अपिल गरेको छ । संघका सचिव डा. ईन्द्र ढकालद्वारा जारी विज्ञ्प्तीमा अतिआवश्यक स्वास्थ्य सेवा प्रदानको लागि चिकित्सक, नर्स तथा स्वाथ्यकर्मीहरु सेवा प्रदान गर्न ड्युटीमा जान कठिनाई भएकोले सबैलाई कार्यक्षेत्रमा जाने वातावरण मिलाईदिन अपिल गरिएको छ । विज्ञ्प्तीमा सेवा प्रभावित हुन नदिन स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी निर्वाध हिड्ने वातावरण मिलाइन दिन आग्रह गरिएको छ ।