27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:07

TRENDING .

रुपन्देहिमा पाँच जनाको शृंखलाबद्ध हत्यामा संलग्न ‘सिरियल किलर’ समातियो

- Advertisement -

बुटवल, मंसिर-२९,२०६८ साल कात्तिक १३ गते राति करिब १ बजे। तिलोत्तमा नगरपालिका वडा नं. ५ शंकरनगरका दुजेन्द्र बस्नेतले केही आवाज आएजस्तो सुने।

दुई तले पक्की घरको माथिल्लो तलामा श्रीमती र दुई छोराछोरीसहित सुतेका थिए। बस्नेतकी ७५ वर्षीय आमा नेत्रकुमारी तल्लो तलाको कोठामा सुत्थिन्। उच्च रक्तचाप, मधुमेह, बाथलगायतले थलिएकी नेत्रकुमारी माथिल्लो तल्लामा चढ्न ओर्लन समस्या भएपछि तल्लो तलामा सुत्ने गर्थिन्। त्यो दिन पनि परिवारका सबै सदस्य सँगै खाना खाएर राति करिब १० बजेतिर सबै आ–आफ्नो कोठातर्फ लागेका थिए।

राति अचानक दुजेन्द्रको कानमा आमाले बोलाएजस्तो आवाज आयो। बेडबाट उठेर ढोका खोल्न के खोजेका थिए, ढोका बाहिरबाट लक गरिएको थियो, खोलिएन। १५/१६ भन्दा धेरैपटक ढोका तानेपछि बल्ल खुल्यो। बाहिर आएपछि थाहा पाए, आमा नेत्रकुमारीको धोती उनको ढोकाको लक र सिँढीमा बाँधेर ढोका खोल्न नमिल्ने बनाइएको थियो।

हतार–हतार आमा सुतेको तल्लो तलाको कोठामा पुगे। मधुरो बत्तीको उज्यालोमा आमा रगतको आहालमा भुइँमा पल्टिएकी थिइन्। चिच्चाउंदै माथिल्लो तल्लाको अर्को कोठामा सुतेका छोरालाई उठाउन जाँदै थिए, छोरा सुतेको कोठाको ढोकामा पनि बाहिरबाट चुकुल लगाइएको थियो।

चुकुल खोले। त्यतिञ्जेल श्रीमती पुष्पा र छोरी उठेर छिमेकीलाई गुहार्दै थिए। मध्यरातमा रुवाबासी र हो–हल्ला चलेको सुनेपछि छिमेकी हुमनाथ भण्डारी बाहिर निस्कन खोज्दैथिए, उनको पनि घरको बाहिरबाट चुकुल लगाइएको थियो।

दुजेन्द्रले भण्डारीको घरको पनि चुकुल खोलिदिए।

टाउकोमा गम्भीर प्रहारका कारण अर्धचेत नेत्रकुमारीलाई भैरहवा मेडिकल कलेज लगियो। त्यहाँ उपचार सम्भव नभएपछि भरतपुर लगियो। विभिन्न रोगले बिरामी नेत्रकुमारीको अचेत अवस्थामै टाउकोको शल्यक्रिया गरिए पनि कात्तिक १७ गते मृत्यु भयो।

समय बित्दै गयो। अभियुक्त पत्ता लाग्न सकेको थिएन। त्यसैबीचमा २०७१ साल असोज १३ गते राति रुपन्देहीको रुद्रपुरमा त्यस्तै प्रकृतिको अर्को घटना घट्यो। रुद्रपुर वडा नं. ९ प्रतापपुर बस्ने चन्द्रबहादुर कुँवरलाई पनि मरणासन्न हुनेगरी टाउकोमा हतियार प्रहार गरी धनमाल चोरी भयो। कुँवरको पनि उपचारको क्रममा मृत्यु भयो।

पछिल्लो पटक गत कात्तिक १२ गते रुपन्देहीको देवदह नगरपालिका–२ की २१ वर्षीाय नमकला पाण्डेमाथि पनि त्यस्तै घटना दोहोरियो। गह्रांै हतियार प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी दुई महिना सुत्केरी नमकलाको उपचारको क्रममा सोही दिन मृत्यु भयो।

२०७२ साल कात्तिक २ गते देवदह नगरपालिका वडा नं. ८ की ९२ वर्षीया चन्द्रकला सापकोटा र ०७३ साल साउन १८ गते रुपन्देहीको रुद्रपुर–५ चापाकी ३२ वर्षीया रनमाया पुनको पनि यस्तै घटनामा परी हत्या भएको थियो।

०६८ सालदेखि ७३ सालसम्म आइपुग्दा रुपन्देहीमा यस्तै प्रकारका झन्डै दुई दर्जन घटना भइरहे। पाँच जनाको हत्या भयो। सबै घटनामा गराउने व्यक्तिले एउटै समय र शैली अपनाउँथ्यो। घरका सबै ढोका र छिमेकीका घरमा समेत बाहिरबाट चुकुल लगाउने र चुकुल लगाउन नमिल्ने ढोका तथा गेटमा कमडाले बाँधिदिने अनि लक्षित व्यक्तिलाई मराणासन्न हुनेगरी टाउकोमा प्रहार गरी धनमाल चोरी गर्ने।

सँधैं उसको निशानामा महिला, बृद्ध तथा कमजोर व्यक्ति पर्ने गर्थे। तीज, दसै, तिहारमा गरगहना र धनमाल बढी प्रयोग हुने हुनाले त्यही समयमा घटना हुने गरेका थिए।

छ वर्षदेखि सिलसिलाबद्ध एकै प्रकारका घटना दोहोरिँदै जाँदा पनि घटना गराउने व्यक्ति पत्ता लगाउन नसकेर आलोचित बनेको रुपन्देही प्रहरी सबै घटनामा संलग्न ‘सिरियल किलर’को गिरोहलाई लामो समयपछि पक्राउ गर्न सफल भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलमा यी सबै घटनामा संलग्न सर्लाही सुन्दरपुर चौराहा गाविस वडा नं. ८ पिराभिटाका ६० वर्षीय चनरु हजारी (पासवान), सर्लाही बरथहवा नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय दीपक विश्वकर्मालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ।

पक्राउ परेका पासवानले हत्या तथा चोरी गर्ने र विश्वकर्माले चोरीका गरगहना खरिद गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रबिन्द्र धानुकले यी सबै घटनामा संलग्न अन्य दुई जनाको पनि संलग्नता रहेको जानकारी प्राप्त भएको र उनीहरुलाई पनि छिट्टै पक्राउ गरिने बताए।

‘लामो समयदेखि हत्या तथा लुटपाटमा संलग्न गिरोहको मुख्य नाइके पक्राउ गरेका छौं, फरार अभियुक्त पनि छिट्टै पक्राउ पर्छन्,’ उनले भने।

अभियुक्तहरु सर्लाहीबाट बुटवलमा आउने, कोठा भाडामा लिई गाउँ डुल्ने, शारीरिक रुपमा कमजोर महिला तथा बृद्धबृद्धाको हत्या गरी चोरी गर्ने उनीहरुको काम भएको प्रहरीको भनाइ छ। ‘दिउँसोको समयमा चप्पल समेत नलगाई मगन्ते शैलीमा गाउँ डुली घरपरिवारको अवस्था पत्ता लगाउने, सुत्केरी, बृद्धबृद्धालाई निगरानी राख्ने र रातिको समयमा हतियारले टाउकोमा प्रयोग गरी हत्या गरी चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ धानुकले भने।

यो समूह पक्राउ परेपछि चाडपर्वको समयमा हुने हत्या र चोरीका घटनामा अबका वर्षहरुमा कमी हुने आँकलन प्रहरीको छ। हजारी समूहले हत्यासँगै १५ स्थानबाट धनमाल र सुनका गरगहना चोरी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार ०७१ असोज ८ गते रुद्रपुर वडा नं. ५ बनकसियास्थित ३४ वर्षीया शान्ति थापाको घरबाट धनमाल चोरी, ९ गते सैनामैना नगरपालिका वडा नं. १२ बाँसगढीस्थित ६५ वर्षीया यमकलि छत्यालको घरबाट धनमाल चोरी, ११ गते गजेडी १ लेसाकी ४५ वर्षीया पम्फा क्षेत्रीको घरबाट धनमाल चोरी गरेको अनुसन्धानका क्रममा खुलेको धानुकले बताए।

यस्तै, ०७२ भदौ ३१ गते गजेडी–३ मन्दिरडाँडास्थित ३३ वर्षीया रुपा विक, ०७२ असोज ४ गते बुटवल–१५ की ६९ वर्षीया चन्द्रमाया ठकुरी, २१ गते रुद्रपुर चापाकी ६५ वर्षीया सुकमाया गुरुङ, २४ गते रुद्रपुर वडा नं. ७ का कृष्ण श्रेष्ठ, २५ गते रुद्रपुरकै वडा नं. ९ हनुमाननगरकी सरस्वती सुनार, कात्तिक २ गते रुद्रपुर–२ पिप्री चापाकी ७३ वर्षीया नरमाया छन्त्यालको घरबाट धनमाल चोरी गरी बिक्री गरेको अनुसन्धानका क्रममा हजारीले स्वीकार गरेको प्रहरीको दाबी छ।

हजारी समूहले ०७३ भदौ १९ गते गजेडी–१ बेलबरियाकी ३० वर्षीया सीता भुजेल, २२ गते सालझण्डी–६ उत्तरविरौलीका ५४ वर्षीय लेखनाथ भुषाल, २४ गते देवदह–१० सित्तलनगरकी ६५ वर्षीया तिलकुमारी न्यौपाने, असोज १८ गते सैनामैना–१ बनकट्टाकी ६० वर्षीया भनदेवी सुनार, २१ गते बुटवल–१५ बदेलपोखरीकी ६३ वर्षीया सनसरी गुरुङ र १४ गते देवदह–३ सेमरानाकी २३ वर्षीया दीपा थापाको घरबाट धनमाल चोरी गरेको बताइएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्